Mero Samay

  • Latest News

    Feb 25, 2016

    पर्साको एक विद्यालयमा शिक्षक आउन छाडेपछि पियनले पढाउन थाले

    वीरगन्ज १४ फागुन २०७२ । पर्साको गाविसको सरकारी विद्यालयमा शिक्षकहरु आउन छाडेपछि विद्यालयका परिचर (पियन) ले विद्यार्थीहरुलाई पढाउने गरेका छन् ।
    पर्साको महुवन गाविस वडा नम्बर ८ बलुवा टोलमा सन्चालित सरकारी विद्यालय अरुणोदय युवा प्राथमिक विद्यालयमा शिक्षकहरु नियमित रुपमा नआएपछि विद्यालयका परिचर ९पियन० राम बालक यादवले नै विधार्थीहरुलाइ पढाउदै आएका छन् ।
    विद्यालयमा स्थायी दरबन्दीका तीन, राहत दरबन्दीमा एक र बालविकासमा एक गरी कुल पाँच जना शिक्षक शिक्षिका कार्यरत रहेपनि दुइ जना मात्र शिक्षक नियमित रुपमा विद्यालय आउने गरेका छन् ।
    राहत दबन्दीकी शिक्षीका अमीता देवी यादव फागुन महिनामा एक दिन मात्र विद्यालयमा हाजिर भएको तथा बालविकासकी शिक्षिका आशा देवी फागुनमा एक दिन पनि विद्यालयमा नआएको सोही विद्यालयका प्रधानाध्यापक राम प्रसाद साहले बताए ।
    २०६२ सालमा युनिसेफ नेपालले ४० लाख रुपैयाको लागतमा निर्माण गरिदिएको भौतिक पुर्वाधारले सुविधा सम्पन्न सात कोठे विद्यालयको भवन छ तर शिक्षकहरु नियमित रुपमा नआउँदा विद्यालयमा अधिकांश विद्यार्थीहरु पढन आउनै छाडेका छन् ।
    विद्यालयको भर्ना रजिष्टर अनुसार कक्षा १ मा २०, कक्षा २ मा ३० , कक्षा ३ मा २३ , कक्षा ४ मा २१ र कक्षा ५ मा २० गरि कुल एक सय १४ जना विद्यार्थी भर्ना भएको उल्लेख छ । तर विद्यालयमा २०र२२ जना मात्र विद्यार्थीहरु नियमित रुपमा पढन आउने गरेका छन् । यो स्कुल पिउनले नै चलाएका छन्, स्थानीय चिरन्जीवी यादवले बताए ,‘मास्टरहरु महिनामा एक दुइ दिन मात्र आउँछन् , अनि महिनाभरको हाजीर गरेर जान्छन् ।
    विद्यालयमा अध्यापनरत पाँच मध्ये चार जना शिक्षक शिक्षीका सोही गाँउ बलुवा टोलकै वासीन्दा भएकाले आफुलाई उनीहरुले नटरेको विद्यालयका प्रधानाध्यापक साहले गुनासो पोखे । मैले पटक पटक सचेत गराउदै आएको छु, तर उनीहरु यहि गाँउवासी भएकाले मेरो कुरा नै टेर्दै टेर्दैनन्, प्रधानाध्यापक साहले भने, म आफै पनि आजित भइसकेको छु ।
    विद्यालय व्यवस्थापन समितिको चुनावमा आफनो बर्चश्व बनाउनका लागि मात्रै अभिभावकहरुले विद्यालयमा आफना छोराछोरीको भर्ना गरेको भन्दै प्रधानाध्यापक साहले भर्ना सरकारी स्कुलमा गरेर पढ्न चाही नीजी बोर्डिङ स्कुलमा पठाउने गरेको पाइएको बताए । विद्यालयका शिक्षक शम्भु प्रसाद यादवले पनि विद्यालयमा भर्ना भएका अधिकांश विद्यार्थी निजी बोर्डिङ स्कुलमा पढन जाने गरेको बताए ।
    स्थानीय अभिभावकहरुले भने विधार्थीको नाममा आउने सेवासुविधा र बजेट अनियमितता गर्नकै लागि प्रधानाध्यापक साहले भर्ना रजिष्टरमा विद्यार्थीको संख्या बढाएको बताएका छन् । शैक्षिक सत्र बित्न लाग्दा समेत विद्यार्थीहरुलाइ अहिले सम्म पनि पाठ्यपुस्तक र छात्रवृति रकम वितरण नगरिएको स्थानीय प्रमोद यादवले बताए । विद्यालय प्रशासनले चालु शैक्षिक सत्रमा अध्ययनरत विद्यार्थीहरुलाइ पाठ्यपुस्तक वितरणका लागि १० हजार सात सय २० रुपैया , छात्रवृति वितरणका लागि २० हजार सात सय ७८, विद्यालय सुधार कार्यक्रमका लागि नौ हजार आठ सय र मसलन्द खर्चका लागि ११ हजार पाँच सय ५० रुपैयाँ गत असार महिना मै निकासा गराएर लगिसकेको जिल्ला शिक्षा कार्यालय पर्साको लेखा फाँटले जनाएको छ ।
    बन्द हडतालका कारण छात्रवृतिको रकम वितरण गर्न नसकिएको भन्दै प्रधानाध्यापक साहले आगामी आइतवार विधार्थीहरुलाइ छात्रवृति वितरण गरिने बताए । पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहले भने अरुणोदय युवा प्राविको समस्याका बारेमा आफु अनविज्ञ रहेको बताए । जनशक्ति अभावमा अनुगमन गर्न नभ्याएको भन्दै उनले अब भने अनुगमन गर्ने र दोषीलाइ कार्वाही गर्ने प्रतिबद्धता जनाए । सामुदायिक विद्यालय प्रति स्थानीय समुदाय नै सबै भन्दा बढि जिम्मेवार हुनु पर्नेमा उनले जोड दिए । अमित अग्रवाल, रातोपाटी
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: पर्साको एक विद्यालयमा शिक्षक आउन छाडेपछि पियनले पढाउन थाले Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top