'म त भारतको प्रधानमन्त्री, उनी त केवल नेपालमा राजा : इन्दिरा गान्धीको गर्जन'
राजनीतिमा यस्तै हुँदोरहेछ ! :- भारतसँग व्यापार सन्धि (सन् १९६०) भएपछि यसको विरोध जनाउन उपत्यकामा बजारहरु बन्द गरी हडताल गराइयो । मामुली रुपमा मात्र पसलहरु बन्द भए पनि सो हडतालको कारक को थियो भन्ने सबैले बुझेका थिए ।
पछि त्यसबखतका भारतका वाणिज्य सचिव (के.वी.लाल) ले मलाई म ब्याङ्गकमा
काम गर्दा भेट हुँदा राजा महेन्द्रको भारतमा सवारी भएको बखत इन्दिरा
गान्धीसँग कसरी विचारको आदानप्रदान हुन्छ भन्ने जानकारी दिँदा भन्नुभयो,
“तपाईंको राजा दुई देशको विचारका समस्याहरुबारे इन्दिराजीसँग आम्नेसाम्ने
छलफल गरिबक्सँदैन, दिल्ली छोडिबक्सँदा मोटरमा साथ बसेकी भारतकी
प्रधानमन्त्रीलाई छुट्टिने बखत मुख्य बुँदाहरु भएको सानो नोट मात्र बक्सी
यसमा भएका कुराहरु गरिदिनु पर्छ भन्ने हुकुम हुन्थ्यो ।”
त्यस्तै एकपटक दिएको नोटमा अरु कुराको अतिरिक्त नेपाल–भारत व्यापार र
पारवहन सन्धि विषयमा नेपाललाई सन् १९६० को सन्धिअनुसारको व्यवस्था ठीक छ ।
सन् १९६६ मा भएको “मेमोर्याण्डम् अफ अण्डर स्ट्याण्डिङ रद्द गरिनुपर्छ भनी
लेखिएको थियो” भनी बताउनुभएको थियो ।
“तपाईंको राजा दुई देशको विचारका समस्याहरुबारे इन्दिराजीसँग आम्नेसाम्ने छलफल गरिबक्सँदैन, दिल्ली छोडिबक्सँदा मोटरमा साथ बसेकी भारतकी प्रधानमन्त्रीलाई छुट्टिने बखत मुख्य बुँदाहरु भएको सानो नोट मात्र बक्सी यसमा भएका कुराहरु गरिदिनु पर्छ भन्ने हुकुम हुन्थ्यो ।”
सन् १९६६ को मेमोर्याण्डम मैले उद्योग–वाणिज्य सचिवको हैसियतले सही
गरेको थिएँ । त्यसमा नेपाली औद्योगिक उत्पादनको खर्चको हिसाब भारतलाई
दिएपछि नेपाली वा भारतीय कच्चा पदार्थ (८० प्रतिशत भनेजस्तो लाग्छ) खपत
भएको माल भारतमा बिनारोकटोक जानदिने कुरा परेको थियो ।
यस्तो कुरा राख्न हामी कर्मचारीहरुलाई आमान्य भएको र यसो नगरी भारत कुरा
मिलाउन सहमत नभएको अवस्था पर्न गएकोले हाम्रा त्यसबखतका प्रधानमन्त्री
कीर्तिनिघि विष्ट (छेत्रपाटी हो कि ठमेलमा बस्नुहुन्थ्यो)कहाँ गई नेपाली
प्रतिनिधिमण्डलले उहाँलाई यो अवस्था अवगत गरायौं ।
प्रधानमन्त्रीले फोनबाट दरबारमा सम्पर्क राखी त्यस्तो सर्त भए पनि गरी
भारतीयहरुलाई फिर्ता गर्नु र उ.वा. सचिवले यस विषयमा एक नोट तयार गरी दरबार
पठाउनू भन्ने निर्देशन भएको थियो । सो नोट तयार गरी पठाइयो, जसमा यस्तो
सर्त नेपालको हितमा नभएको कुरा उल्लेख गरिएको थियो ।
२–३ वर्षपछि दिल्ली सवारीमा राजाबाट माथि भनेको नोट इन्दिराजीलाई दिइएको
कुरा स्वागतयोग्य नै थियो । तर सन् १९६० को वाणिज्य सन्धि नै नेपालको लागि
फाइदाजनक छ भनी सो नोटमा उल्लेख हुनु र सन् १९६० मा सो सन्धि हुँदा हडताल
गराई नेपालको हितमा भएन भन्ने प्रचार हुनु चाहिँ आपसमा मेल नखाने कुरा हो,
तर राजनीतिमा यस्तै हुँदोरहेछ ।
राजा महेन्द्र टिप्स दिने फेहरिस्त पढ्दै बस्दा बबाल मच्चियो !
के.वी. लालकै सन्दर्भमा अर्काेपल्ट ब्याङ्ककमा भेट हुँदा उहाँले एउटा
रमाइलो कुरा सुनाउनुभएको थियो । लुसाकामा भएको असंलग्न राष्ट्रहरुको शिखर
सम्मेलनमा भएको घटना हो ।
सम्मेलन सकिएको दिन राति बैठकमा एउटा सोफामा राजा महेन्द्रसहित
इण्डोनेशियाको प्रेसिडेण्ट र अर्काे एक देशको राष्ट्रप्रमुख विराजमान भएको
बखत राजा महेन्द्र एउटा कागज पढ्दै होइबक्सन्थ्यो रे । त्यसबखत इन्दिरा
गान्धी सो हलमा आउँदा हाम्रो राजा (कागज नजर हुन लागेकोले नदेखेर होला)
उठिबक्सेनछ । साथ बस्ने अरु दुई राष्ट्रप्रमुखहरु उठेछन् ।
आफ्नो कोठामा फर्केर गएपछि इन्दिराजी एकदम पड्केर रिसाइन्, “पहिलो कुरा,
म स्वास्नीमानिस कोठाभित्र पस्दा पुरुषहरुबाट मर्यादाको लागि उठ्ने चलन छ,
तर नेपालको राजालाई यो कुरा थाहा रहेनछ क्यार ! Moreover, I am the Prime
Minister of India and he is only the King of Nepal. I will see.” भनी
आफ्नो अप्रसन्नता देखाएकी थिइन् रे ।
के.वी. लालले ठट्टा गरी “Inform your king about the wrath of the
woman- he better be careful because she is a very headstrong female” भनी
ठट्टा गर्नुभएको थियो ।
पछि मैले त्यसबखत राजासँग त्यो सम्मेलनमा जाने एक सचिवसँग यस विषयमा
सोध्दा राजाले कागज पढ्न लगिबक्सेकोले इन्दिरा आएको देखिबक्सेन, तर पछि
देखेपछि उठेर गएर हात मिलाइबक्सेको थियो भनी बताउनुभयो । राजाले पढ्न
लागेको कागज होटलका वेटर र अरु कामदारहरुलाई कति कति बक्सिस (Tip) दिने
भन्ने फेहरिस्त थियो रे ! फाट फुट सम्झना, (२४-२५ : २०५२) - ई -समताबाट