- सिके लाल
म कुनै पृष्ठभूमिबिना विषय प्रवेश गर्न चाहन्छु। मधेस आन्दोलनको आगामी कार्यदिशाबारे छलफल गर्नुअघि थोरै समीक्षा जरुरी छ। नेपालका थोरै राजनीतिक आन्दोलन असफल भएका छन् त नभनु तर गन्तव्यमा नपुगी स्थगित भएका छन्।
धेरै त मलाई थाहा छैन, तर ३६ सालदेखि म नेपालका राजनीतिक आन्दोलनहरुमा कहिले प्रत्यक्ष त कहिले अप्रत्यक्ष सहभागी भएको छु वा नजिकबाट नियालेको छु।
- आन्दोलन सफलता, असफलता
३५र३६ सालको आन्दोलन सफल रह्यो, जनमतसंग्रह भयो। ४२ सालमा नेपाली कांग्रेसको असहयोग आन्दोलन सफल हुन सकेन। नेपालको निकै ठूलो आन्दोलन सफल गन्त्व्यमा नपुगी फिर्ता लिनुपर्यो। त्यसपछि ४६र४७ को आन्दोलन सफल भयो, ६२र६३ को आन्दोलन सफल भयो।
पहिलो मधेस विद्रोह सफल भयो, दोस्रो मधेस आन्दोलन सफल भयो। नेपालमा सफल नभएको दोस्रो आन्दोलन माओवादीको सन् २०१०र११ मा काठमाडौं कब्जा गर्ने रणनीति हो। र, गन्तव्यमा नपुगेको तेस्रो आन्दोलन यसपटकको मधेस आन्दोलन हो। यो सम्भवतः अहिलेसम्मकै सबैभन्दा बढी सहभागिता रहेको र फैलावट भएको आन्दोलन हो तर पनि सफल भएन।
४२ सालको आन्दोलनलाई अन्तरध्वंशद्वारा समाप्त गरियो र बमकाण्डको कारण परिस्थिति यस्तो बन्यो कि आन्दोलन जारी राख्न सम्भव भएन। माओवादीको काठमाडौं कब्जाको रणनीति किन सफल भएन भने आन्तरिक र बाह्य दुबै शक्ति एकसाथ उसको विरोधमा खडा भए। संसारको जति नै ठूलो शक्ति होओस् एक भन्दा बढी मोर्चामा जानेबित्तिकै उसका कमजोरीहरु बढ्छन्। जति ठूलो मोर्चा, उति नै बढी कमजोरी।
माओवादीको त्यति राम्रो संगठन हुँदाहुँदै पनि, उसका लडाकुहरु क्याम्पमा थिए, माओवादी विभाजित पनि भएको थिएन, उनीहरुलाई अवसरको खोजी गरिरहेका नेपालीको समर्थन पनि थियो, उनीहरु गन्तव्यमा पुग्न सकेनन् किनभने देशको आन्तरिक र बाह्य शक्तिहरु उसका विरुद्ध एक भएका थिए।
यसपटक मधेसमा यति धेरै त्याग भयो, यति ठूलो सहभागिता भयो, नेताजीहरुले भनेका भरमा मान्छेहरुले पढाइ, व्यापार, काम सबैकुरा जोखिममा राखिदिए, आफ्नो इच्छाले होइन। विद्रोहमा जनता स्पतःस्फुर्त सडकमा आउँछन् तर जब आन्दोलन हुन्छ त्यसको जिम्मेवारी नेताहरुले लिनुपर्छ। नेताहरुले भनेपछि एउटा पुस्ताले आफ्नो भविष्य दाउमा लगाइदियो। अहिले पनि हामी भनिरहेका छौँ कि आन्दोलन जारी छ, जनताको त्यागको सम्मान गर्छौ, तर हामीले केही दिन सकेनौँ, गर्न सकेनौँ। यसपटक के भयो?
पहिलोपटक अन्तरध्वंश भयो, दोश्रोपटक आन्तरिक र बाह्य शक्तिले दिएनन् भनेपछि यसपटक के भयोरु यदि यसमा अलि विचार गर्ने हो भने दुई तीन कुरा देखिन्छन्।
पहिलो हो, समयको उपयुक्त छनोट भएन। यो आन्दोलन हुँदा दसैं थियो, तिहार थियो, छठ थियो, इद थियो। कुनै न कुनै बहानामा दुई चार दिनको लागि आन्दोलन रोक्नुपर्ने हुन्थ्यो तर यसो गरेको भए आन्दोलनले पुरानो ुटेम्पोु नसमात्न सक्थ्यो।
नेपालमा भएका धेरैजसो आन्दोलन वसन्तमा सफल भएका छन्। फागुदेखि नयाँ वर्षसम्म त्यस्तो महत्वपूर्ण केही पर्दैन। त्यसैले समयको छनोट महत्वपूर्ण कुरा हो।
दोस्रो कुरा, वातावरण कस्तो छ भनेर परिस्थितिको मुल्याकंन गर्नुपर्छ। माओवादीले आत्मसमर्पण गरेपछि उसलाई मानिसहरु चुनौती मान्दैनन् नत्र त मधेसी दलमा पनि मधेसी जनतामा पनि चुनौती राज्यसत्तालाई नमानेर माओवादीलाई मान्ने मनस्थिति कायम थियो।
असली चुनौती मधेसमा पनि जसलाई माओवादी त चुनौती थिएनन् राज्यसत्ताले समस्या सिर्जना गरिरहेको थियो तर राज्यसत्ता भन्दा बढी चुनौती माओवादीलाई देख्ने मनस्थिति कायम थियो। अब माओवादी पनि राज्यसत्ताको अंग बनेको छ, त्यो समस्या छैन तर फेरि पनि नयाँ शक्तिका नाममा तिनै पुराना मान्छेहरु नयाँ कपडा फेरेर आएका छन्। त्यो चुनौती एक हिसाबले कायमै छ। समयको मुल्याकंनपछि परिस्थितिको मुल्याकंन हेर्ने हो भने परिस्थिति पनि हाम्रो पक्षमा थिएन।
तेस्रो, नयाँ दिल्लीको सत्ता र काठमाडौंको सत्ताको लडाइँमा हामी हतियार झैँ उपयोग भएका थियौँ। हाम्रै अजेन्डामा नयाँ दिल्ली आयो भन्ने हामीलाई लागेको हुन सक्छ तर नयाँ दिल्लीको नेपालमा मधेसीसँग भन्दा बढी स्वार्थ थियो। दुई सत्ताबीचको संघर्षमा हामी बढी नै निर्भर भयौँ। किस्तिमा खानेकुरा मिलिहाल्छ बसेर भोजन गरौँला, जबसम्म भोजन तयार हुँदैन तबसम्म पर्खौँ।
जब हामी रक्सौलको पुलमा बसेका थियौँ, पर्खिरहेका थियौँ। बाँकी सबै काम भैरहेको छ, हामी मात्र पर्खिरहेका छौँ। यस्तो मनस्थिति बनेको थियो। एउटै खेलाडीमाथि जब दाउ लगाइन्छ तब आन्दोलनमा गडबडी हुन्छ।
चौँथो कुरा आन्तरिक हो। तपाईँको जुन आन्दोलनकारी शक्ति छ, जब तपाईँ एकअर्काको खुट्टा तान्न थाल्नुहुन्छ तब कसरी दौडिन सक्नुहुन्छरु सबैलाई लाग्यो कि यो आन्दोलन त मैले चलाइरहेको छु। राजेन्द्रलाई लाग्यो कि पुरै रक्सौल समातेको छु, त्रिपाठी वा शुक्ला त्यहाँ के गरेका छन्रु त्रिपाठी र शुक्लाजीलाई लागेको होला कि राजेन्द्रले रक्सौल समातेर पुरै मधेसको नेता भएका छन्, उपेन्द्रजीलाई लाग्यो होला कि पहाड र जनजातिलाई पनि साथमा लिनु छ।
राजनीतिमा सबैभन्दा माथि आस्था हुन्छ। तपाईँहरुको आस्थाप्रति मैले कुनै प्रश्न उठाइरहेको छैन। सबैलाई छ कि देशको हित होस् मधेसको हित होस्। सिद्धान्तमा पनि म कुनै प्रश्न उठाइरहेको छैन किनभने मधेसवादको सिद्धान्तप्रति तपाईँहरु सबै समर्पित हुनुहुन्छ। जब कार्यसूचीको कुरा आउँछ, त्यसमा व्यक्तिगत महत्वाकांक्षाको टक्कर सुरु हुन्छ। राजनीतिक दलको टक्कर सुरु हुन्छ। यो कार्यसूचीलाई केही समयको लागि छोड्दिनुपर्थ्यो।
कमसेकम आन्दोलन सफलतातर्फ उन्मुख नभएसम्म कार्यसूचीलाई छोड्नुपर्थ्यो। तपाईँहरुले आआफ्नो कार्यसूचीलाई छोड्नुभएन। यो सिद्धान्तको लडाइँ थियो, आस्थाको लडाइँ थियो तर तपाईँहरु कार्यसूचीको लडाइँमा लाग्नुभयो। जब आस्था र सिद्धान्तको लडाइँलाई कार्यसूचीको लडाइँ बनाइन्छ वा चुनावी घोषणापत्र बनाइन्छ तब आन्दोलन धेरै अघि जाँदैन। यो पनि समीक्षा गर्न जरुरी छ।
- लाभहानी लेखाजोखा
समीक्षा पछि लाभ हानी लेखाजोखा गरौँ। मधेसलाई यो आन्दोलनबाट के फाइदा भयो र के नोक्सान भयोरु ब्यालेन्स सिट हेरौँ। फाइदा के भयो भने यो मधेस नेपालको नम्बर एक प्राथमिकता हो भन्ने स्थापित भयो। नत्र कांग्रेस ३० वर्षदेखि संसद पुनर्स्थापनालाई पहिलो अजेन्डा बनाएर लडिरह्यो। माओवादीले त जनवाद स्थापना गर्न बन्दुक नै उठायो।
यस किसिमले मधेसवाद देशको युनिक अजेन्डा कहिल्यै बनेको थिएन। विरोध गर्नेहरुले पनि र समर्थन गर्नेहरुले मानेका छन् कि नेपालको विकासका लागि मात्र होइन अस्तित्वको लागि पनि यो एक नम्बर अजेन्डा हो। यो ठूलो लाभ हो।
अर्को लाभको कुरा गरौँ। पहिलोपटक हामीले जातपातबाट थोरै अलग रहेर सोच्न थालेका छौँ। जातबाट माथि उठ्यौँ नभनुँ तर जातपातबाट अलग रहेर सोच्न थालेका छौँ कि यो हामी सबैको अजेन्डा हो। पुराना मान्छेहरुमा त यो सम्भव छैन तर नयाँ पुस्तामा जुन भावना आएको छ यो ठूलो कुरा हो। कुन राजनीतिक दलले उनीहरुलाई समेट्ला त्यो भोलिको कुरा हो तर अलग रहेर सोच्ने जुन भावना छ यो ठूलो कुरा हो।
तेश्रो फाइदा अन्तर्राष्ट्रिय रुपमा पनि यो मुद्धा सफल भएको छ। अन्तर्राष्ट्रिय भिजिबलिटी बढेको छ। जसलाई यो मधेस भनेको के हो थाहै थिएन, लन्डन, न्युयोर्क र पेरिसको त कुरै छोड्दिनुस्, १० वर्ष पहिला दिल्लीलाई पनि बुझाउनुपर्थ्यो कि मधेस के हो। अब उनीहरुलाई बुझेका छन् कि नेपालमा मधेस छ र मधेसी पनि केही हो। यो अन्तरर्राष्ट्रिय मुद्धाको रुपमा स्थापित भएको छ।
- बेफाइदा
अब हानी वा बेफाइदा के भयो हेरौँ। सबैभन्दा बेफाइदा भनेको समाजमा निराशा व्याप्त छ। केही समयअघि म लाहान, जनकपुर, विराटनगर, इनरुवा जाँदा जहाँ पनि मान्छेहरुमा कस्तो भावना भेटेँ भने( यति गर्दा पनि हुँदैन भने के गर्नेरु अब त बन्दुक नै उठाउनु पर्छ। बन्दुक निराशाको अभिव्यक्ति हो, आत्मविश्वासको होइन।
गान्धी ठिक भन्थे- बन्दुक उठाउनु शक्तिशाली हुनु होइन। मृत्युका लागि तयार भएर निस्कनेबाट सकारात्मक भन्दा नकारात्मक काम धेरै हुन्छ। यदि उसले जित्यो भने ऊ भन्दा भ्रष्ट कोही हुँदैन, ऊ भन्दा अन्यायी र अवसरवादी कोही हुँदैन। समाजमा देखिएको यो निराशा सबैभन्दा ठूलो बेफाइदा हो।
कांग्रेस आयो, हामीले मान्यौँ, माओवादी आयो, यो पनि मान्यौँ, उपेन्द्र यादव आए, त्यो पनि मान्यौँ, गजेन्द्रबाबुको नयाँ अवतार भयो भनियो, यो पनि मान्यौँ। सबैलाई मान्यौँ। तपाईँले भन्नुभयो भद्र अवज्ञा, असहयोग आन्दोलन त्यो पनि मान्यौँ तर केही पनि भएन। अब के गरौँरु अब त बन्दुक बोक्ने हो भन्ने मानसिकता बडा खतरनाक छ। यो हतासा र निराशाबाट समाजलाई कसरी बाहिर निकाल्ने भन्ने विषय महत्वपूर्ण विषय हो।
कतिपय मान्छेले भन्लान् कि यो त फाइदाकै विषय हो। काठमाडौं त बन्दुककै भाषा सुन्छ। यस्तो होइन। तत्कालका लागि होला तर बन्दुककै कुरा मुख्य भए त प्यालेस्टाइनीहरुले धेरै पहिलादेखि बन्दुक उठाइरहेका थिए। अफगानिस्तानको अलकायदासँग बन्दुक छैनरु सिरियाको आइएसको भन्दा ठूलो संगठन तपाईँसँग छ ररु तमिल इलम भन्दा ज्यादा उत्सर्ग गर्नेवाला तपाईँ हुनुहुन्छ ररु दुनियाँ बदलिएको छ। परिस्थिति, समय, बाह्य वातावरण सबैकुरा सोच्नुपर्ने हुन्छ। बन्दुक समस्या हो, समाधान होइन।
दोस्रो बेफाइदा के छ भने देशमा केही पनि हुँदैन भन्ने सोचले फेरि भिसाको लाइन बढ्दै छ। यसै पनि देशमा युवा निकै कम छन्। राम्रामध्ये पनि राम्राहरु फेरि भिसाको लाइनमा लागेका छन्। कम पढेकाहरु साउदी कतार जान्छन्, पढेलेखेकाहरु अस्ट्रेलिया, युरोप र क्यानडा जान्छन्। जहाँ गए पनि काम एउटै हुन्छ। युवाहरु बाहिर भाग्न थालेका छन्। यो अर्को बेफाइदा हो।
तेस्रो, आन्दोलनप्रति नै वितृष्णाजस्तो पनि देखिएको छ। पहिला आन्दोलनमा जानेहरुलाई बाआमा खुसीसाथ जान दिन्थे। भन्थे-काम र पढाइ लेखाइ नछोड, राम्रो काम गर। कमसेकम म विद्यार्थी हुँदाताका आन्दोलनमा जानुलाई राम्रो काम हो भनिन्थ्यो। यो असफलतापछि भन्न थालेका छन्( नेताहरु त जान्छन् तिमीहरुलाई छोडेर, तिमीहरु नेताको गाडीको पछि कुद्नेमात्र काम गर्नेछौ।
चौँथो बेफाइदा, व्यापारी वर्गमा ठूलो निराशा छ। सुरुमा उत्साह थियो कि आफ्नो राज्य मिल्छ, आफ्नो प्रान्त मिल्नेछ, स्वराज मिल्नेछ, स्वाधिनता मिल्नेछ, हामी व्यापारीका लागि व्यापर गर्ने उद्योग खोल्ने नयाँ आयाम खुल्नेछ। काठमाडौंमा हाम्रो दबाब बन्नेछ, दिल्लीमा हाम्रो आवाज सुनिनेछ। हाम्रो पनि सम्पन्नता बढ्नेछ। आन्दोलनको दुई तीन महिनासम्म उद्योगी व्यापारीले तपाईँहरुलाई साथ दिए। अब उनीहरु डराएका छन्। उनीहरु पनि त नाफा घाटा हेर्छन्। हिसाब गर्यो, नोक्सान बढी छ, हात केही लागेन। यो पनि ठूलो हानी हो।
- अबको तयारी
अहिलेसम्मको समीक्षाको कुरा भयो। अब तयारीको कुरा गरौँ, आन्दोलन त गर्नैछ किनभने यसपटक केही हासिल भएन। अबको आन्दोलन राम्रो तयारीका साथ गर्नुपर्ने हुन्छ। राम्रो तयारी त्यहाँ गर्नुपर्ने हुन्छ जहाँ कमजोरीहरु देखिन्छन्। त्यो कसरी गर्ने त?
नाकाबन्दी वा आमहड्ताल ब्रह्माश्त्र हो। तपाईँहरुले सुरुवात नै ब्रम्हाश्त्रबाट गर्नुभएको थियो। ब्रम्हाश्त्र त कस्तो हुन्छ भने या त दुश्मनलाई समाप्त गर्छ या चलाउनेलाई। खुसीको कुरा यसपटक तपाईँलाई समाप्त गरेन, ब्रम्हाजीले त्यो अश्त्र आफैसँग ताने। यो भाग्यको कुरा हो बँच्नुभयो।
अबको तयारी चरणबद्ध रुपमा गर्नुपर्ने हुन्छ, ब्रम्हाश्त्रबाट नगर्नुस्। पहिले ढुंगाको लडाइँ हुन्छ, त्यसपछि अरु हतियारको लडाइँ हुन्छ, त्यसपछि अझ ठूलो हतियार त्यसले पनि काम दिएन भने तबमात्र ब्रम्हाश्त्रको प्रयोग हुन्छ। सुरुवात त्यस्तो ठाउँबाट गर्नुस् जहाँबाट फर्किन सजिलो होस्। कोही भन्छन् कि वैकल्पिक संविधान बनाउ, नयाँ राजधानी घोषणा गर, तर त्यहाँबाट तपाईँ फर्किन सक्नुहुन्न। त्यो यात्रा भनेको कि प्रभाकरणको यात्रा हो या मुजिबुर रहमानको यात्रा हो।
हामीलाई यी दुबै बाटोमा जानु छैन। हामीलाई त आत्मसम्मानका साथ, अधिकारका साथ, मधेसको साथ देशको पनि हित सोच्नुछ। त यो न प्रभाकरणको यात्रा हो न मुजिबुर रहमानको यात्रा जान्नु छ। हामीलाई त अर्कै बाटो बनाउनु छ। जब अलगै बाटो बनाउनु छ भनेपछि उग्रवादी कुरा गरेर त भएन। तत्कालको लागि त लाग्नेछ कि ठूलो हिरो भएँ, ताली पनि खुब पाइन्छ। तर केबल ताली खाँदैमा कोही नेता हुँदैन।
चरणबद्ध तयारी गर्नुस्, सयमको आँकलन गर्नुस्, परिस्थितिको विश्लेषण गर्नुस्, जब अघि बढ्ने कुनै कार्यक्रम निर्धारण गर्नुहु्न्छ त पछि फर्किने बाटो बन्द गरेर नजानुस्। नत्र दौडेर आत्महत्या गर्नुपर्ने हुन्छ। सिढीमा जब चढ्नुहुन्छ, सोच्नुपर्ने हुन्छ कि कुनै बेला झर्नु पनि पर्छ।
हरेक उचाइको लक्ष्य उचाइमै रहनु हुँदैन। उचाइमा पुग्नुको अर्थ हुन्छ, त्यहाँबाट हेर्नु र फर्किने बाटो राख्नु। सिढीलाई यस्तो बनाउनु कि जहाँ अरु पनि चढुन्। यो तयारीको कुरा हो। आन्तरिक समझदारी र एकतालाई बलियो बनाउनुस्। घरमा बाउछोरा वा आमा छोरा र भाइभाइबीच त कुरा मिल्दैन भने पार्टीमा पनि दुई व्यक्तिबीच विचारमा भिन्नता हुनु स्वभाविक हो। प्रतिस्पर्धा हुनु स्वभाविक हो।
म यो भनिरहेको छैन कि सबै पार्टी एक बनाउनुस्। कार्यसूचीमा समझदारी गरेर आन्तरिक एकता नबनाउने हो भने अघि बढ्न मुस्किल हुनेछ। तेस्रो कुरा तयारीमा, जो नेता ५, ६ वा ७ हुनुहु्न्छ, जसलाई जे मन लाग्छ बोल्दिएका छन्, कोही न कोही एकलाई त नेता मान्नुपर्ने हुन्छ। चिनियाँ कथामा भनिन्छ एक आकासमा दुई सूर्य हुन सक्दैनन्। यदि आन्दोलन सफल बनाउने हो भने नेता एक हुनु जरुरी छ।
४० सालको आन्दोलन, एक नेता गणेशमान सिंह, ६२र६३ को आन्दोलन एक नेता गिरिजाप्रसाद कोइराला। भोलि तपाईँहरुले पनि चुनाव लड्नु छ, गाली गर्न बन्दै गर्नुस् भन्न मैले मिल्दैन। तर जबसम्म आन्दोलन हुन्छ एकजनालाई नेता मान्नुस्। यो नभन्नुस् कि यो बाहुनको नेता हो, यो यादवको नेता हो, यो ब्याकवार्डको नेता हो, यो फर्वार्डको नेता हो। यसबाट फरक हुनुस्, माथि उठ्नुस् म भन्दिन। असल र खराब भनेर मैले नैतिकताको भाषण दिइरहेको छैन। मैले भन्न खोजेको कुरा के हो भने जसलाई मान्नुस् एकजनालाई नेता मान्नुस्।
तयारीको अन्तिम कुरा जुन सबैभन्दा महत्वपूर्ण छ, यसपटकको आन्दोलनमा घाइते या सहिद हुनेलाई हेर्न कुनै औपचारिक व्यवस्था थिएन। अनौपचारिक समूह ठाउँठाउँमा निस्किए। घाइतेको उद्धार तथा उपचारमा विभिन्न ठाउँमा स्वतः स्फुर्त मान्छेहरु आए तर यस्तो खालको आन्दोलन धेरै समय टिक्दैन। सबैका आआफ्ना पेशा छन्, समस्या छन्, कुनै न कुनै व्यवस्था गर्नैपर्छ।
लडाइँमा जति लड्ने सैनिक हुन्छन् उति नै उनीहरुलाई सहयोग गर्ने पूर्वाधारसहितको प्रणाली महत्वपूर्ण हुन्छ। राजनीतिक आन्दोलन पनि यस्तै हुन्छ। जति कार्यकर्ता र नेता मोर्चामा छन् उति नै तपाईँलाई सहयोगी पनि चाहिन्छ। पत्रकार चाहियो, डाक्टर, स्वयंसेवी, घाइते वा विरामीलाई स्ट्रेचरमा राख्नेहरुको सहयोग चाहियो। ड्राइभर चाहियो।
गाडीहरु पनि चाहियो ताकि आपतकालमा कतै पुग्न सकियोस्। कुनै त्यस्तो कोष वा रकम चाहियो ताकि घाइतेलाई आवश्यक पर्दा हेलिकप्टरमा पनि लान सकियोस्। आवश्यक पर्दा यस्ता सहयोग दिन सक्नेहरुलाई चिनेर पहिला नै समझदारी बनाउनुपर्ने हुन्छ। यी सपोर्ट सिस्टमलाई गान्धीजी स्वतन्त्रता आन्दोलनमा भन्थे हामी अगाडि अुनहारहरु छौँ, पछाडि जो मान्छेहरु छन्, उनीहरुको कारण आन्दोलन भैरहेको छ।
- अबको कार्यदिशा के हुने ?
यति भनिसकेपछि अब भावी कार्यदिशा के हुने भन्नेमा केन्द्रित हौँ। पहिलो, एउटा क्षमायात्रा गर्नुस्। क्षमायात्राबाट शक्ति मिल्छ। जनताकै विरुद्ध राज्य लड्न थालेपछि कसरी जित्नुहुन्छ तपाईँरु तपाईँहरुले सहयोग गर्नुभयो, हामीले अपेक्षित फल दिन सकेनौँ, घरघर जानुस्। यी कारणले हामी सफल हुन सकेनौँ।
सरकारमात्र होइन, समाजको एउटा तप्का पनि यसको विरोधमा रह्यो। आन्दोलनलाई साम्प्रदायिक रङ दिने कोसिस भयो। हामी चाहँदैनथियौँ कि आन्दोलन साम्प्रदायिक बनोस्। मधेसको साथ देशलाई पनि मजबुत बनाउने जिम्मेवारपूर्ण नागरिक र नेता हुनुको नाताले तपाईँहरुले यो गर्नु जरुरी छ। जनतासँग क्षमायात्रा गर्नुस् र भन्नुस् कि अपेक्षित फल दिन सकेनौँ। पहाडी, मधेसी वा थारु छुट्याउनु आवश्यक छैन, सबैका घर पुग्नुस्।
दोस्रो, तपाईँहरु हरेक स्कुल र कलेजमा जानुस्। तपाईँहरुको पढाइमा जुन क्षति पुग्यो, यसलाई अन्यथा नलिनुस्। किताब र सर्टिफिकेट अध्ययन र जागिरका लागि काम लाग्छन्, आन्दोलन जीवनमा काम लाग्छ। विद्यार्थीको अलग, शिक्षकको अलग, उनीहरुसँग सम्वाद गर्नुस्। आन्दोलनको उर्जा त्यहाँ छ। यदि आन्दोलनको कुनै इन्जिन हुन्छ भने त्यो विद्यार्थी र शिक्षक नै हो।
तेस्रो, सांकेतिक विरोध सुरु गर्नुस्। यो संविधानमा तपाईँका असहमति के के हुन्, र तपाईँहरु विकल्प के के दिइरहनुभएको छ। त्यो विकल्प केबल मधेसको नहोस्, यो देशमा दाबी गर्नुभएको छ त पुरा राष्ट्रिय मुद्धामा आफ्नो विकल्प दिनुस्। सांकेतिक विरोधपछि भद्र आन्दोलन, असहयोग आन्दोलन हुन्छ।
यिनले पनि काम गरेनन् भने अन्त्यमा आमहड्तालको चरण आउँछ, यसबाट पछि फर्किन निकै गाह्रो हुन्छ। यसकारण आमहड्ताल घोषणा गर्नुपूर्व दुईतीन दिनको समयसीमा तोकेर आमहड्ताल गर्नुस्, यदि दुई तीन पटक यसो गर्दा पनि सफल भएन भने तबमात्र अनिश्चितकालीन आमहड्ताल गर्नुस्। - पहिलाे पाेष्ट
(सद्भावना पार्टीले आइतबार काठमाडौंमा गरेको मधेस आन्दोलनको भावी कार्यदिशाु विषयक अन्तर्क्रिया कार्यक्रममा राजनीतिक विश्लेषक सीके लालले व्यक्त गरेको विचारको भावानुवाद।)