ऋषि राम पराजुली – नेपालमा वैशाख १२ गते गएको भूकम्पका कारण धेरै धनजनको क्षति भयो, यो कुनै अविश्वसनिय विपत्ति थिएन किनकी हाम्रो देश भुकम्पिय जोखिम धेरै भएको मध्ये कै एक देश हो । हामी यसका लागी हामीले कति पूर्व तयारी गरेका थियौं भन्ने कुरा मुख्य हो। भूकम्प कहिले कहाँ र कत्रो आऊँछ यो भन्न सकिने अवस्था अहिलेसम्म छैन ।
वैज्ञानिकहरुले भूकम्प सम्बन्धी गर्ने भविष्यबाणीहरु उपलब्ध केही डाटाहरु र उनीहरुको आफ्ना केही सोच(विधि)हरुमा (यस ठाउँमा यति शक्ति सन्चित भएको हुनुपर्छ, यसका पराकम्पनहरु यस ठाउँमा यसरी गएका छन त्यसैले अब यस्तो हुनसक्छ) आधारित हुन्छन् ।
भूकम्प जाने प्रक्रिया निकै जटिल हुन्छ, पृथ्विको बाहिरि सतहमा रहेका चट्टानहरुमा संचित शक्ति र यसको सामार्थ्यमा कत्रो र कहाँ भूकम्प जान्छ भन्ने अनुमान गर्न सकिन्छ तर यहि शक्ति र यसको सामार्थ्य यकिन रुपमा पत्ता लगाउने यकिन विधिहरु अहिलेसम्म छैनन्। यस्ता विपदबाट बच्न या भनौं कम क्षति बेहोर्न हामी पहिलेदेखिनै सबै रुपमा तयारी भएर बस्नु नै महत्वपुर्ण कुरा हो ।
कस्तो थियो हाम्रो तयारी ?
पछिल्लो समय वि सं १९९० सालको भूकम्प पश्चात प्रत्येक वर्ष नेपालमा माघ २ गतेको दिन भूकम्पिय सुरक्षा दिवस मनाउँदै आइएको थियो, मन्त्रीहरु समेतको उपस्थितिमा कार्यक्रमहरु हुने गर्थे जसमा मुख्य संयोजनकारी भुमिका NSET ले गरेको हुन्थ्यो। यस्तै विभिन्न नगरपालिकाहरुमा भवन संहिता लागु गरिएको थियो, विभिन्न रेडियो टेलिभिजनहरुमार्फत विविध सन्देशहरु बाडिएको थियो।
२०१३ को सेप्टेम्बर महिनामा मैले सामाजिक संजाल मार्फत सामान्यखालको भुकम्प सम्बन्धी ज्ञानका बारे सर्भे गरेको थिएँ जसमा नेपालबाट सहभागी ३ सय ५ जनाको उत्तरहरु केलाउँदा यस्तो देखिएको थियो (तलको चित्र हेर्नुहोस)। सामाजिक संजालमा आबद्ध हुने र यो सर्भेमा भाग लिने नेपालीको चेतनास्तरको बिचार गर्ने हो भने, ५% ले थाहा नै छैन भन्नु र ४२% ले थोरै मात्र थाहा छ भन्नुले यस संबन्धि ज्ञान सर्बसाधारणमा कति रहेछ भन्ने केही अन्दाज लगाउन सकिन्छ। (थप नतिजाहरु हेर्न यहाँ क्लिक गर्नुहोस) यी त कुरा भए व्यक्तिगत सुरक्षाका कुरा तर यस्ता ज्ञान कति लाभदायक रहेत ? यो अर्को खोजको विषय हो।
हामीले ज्ञान बाँड्यौं भूकम्प आएपछि टेबुलमुनि या खाटमुनी या टाउको छोपेर घोप्टिएर सुरक्षित रहौं अनि कम्पन सकिएपछि सुरक्षित स्थानमा जाऔं । तर के यसो गर्नु सबै परिस्थितिको लागि राम्रो हो र ? यस्तो अपनाउने भनेको जुन ठाउँको मुख्य संरचना बलियो छ, तर सहायक संरचनाहरु मात्रै कमजोर छन भने हो । अन्यथा सम्पुर्ण संरचना पुरै ढल्ने अबस्थामा छ भने यदि केहि सेकेन्डमै सुरक्षित स्थानमा पुगिने अबस्था छ भने सावधानिपूर्वक सुरक्षित स्थान तिर जानु नै बेस हुन्छ । किन कि कुनै पनि संरचना ढल्न केही सेकेन्ड लाग्छ नै। तर यदि जान सकिने अवस्था छैन, बाहिर सुरक्षित स्थान छैन भने चाही कुनै टाँड पर्ने ठाउँको ओत लागी बस्दा राम्रो हुन्छ ।
भूकम्पिय सुरक्षाको तयारी केहि वर्ष मात्र होईन केही दशक देखिनै व्यवस्थित तवरमा हुनुपर्थ्यो। यसका लागि सरकारी प्रयास र त्यही अनुरुपको संरचना तथा कार्यान्वयन हुनुपर्थ्यो। हाम्रो देशका बिबिध क्षेत्रहरुको भौगर्भिक अध्ययन गरेर कहाँ बस्ति बसाउन हुन्छ, कहाँ हुदैन भन्ने निर्क्यौल गरि कार्यन्वयन गर्नुपर्थ्यो। भवनसंहिताको कार्यान्वयनको कुरा त मात्रै नक्सा पासका लागी चाहिने नक्सामा मात्र सिमित रहेको अबस्थामा अन्य कुनै पनि तयारी हामिले गरेका थिएनौं भन्दा अत्युक्ति नहोला ।
यस भुकम्पबाट हामी किन बलियो भएका छौं त ?
हाम्रा पुर्खाले धेरै ठुला भुकम्पहरु भोगेका थिए, (हुन त वि सं २०४५ मा पूर्वमा गएको भूकम्प पनि सानो थिएन) त्यस अवस्थाको हाम्रो समाज, विज्ञानमा हाम्रो तथा विश्वकै पहुँच र लगानी तुलनात्मक रुपमा कम थियो । त्यसैले हामीबीचमा यस्तो भूकम्प यति सालमा गयो लगभग यति मानिस मरे भन्ने मात्र तथ्यांक रह्यो, यसका विविध वैज्ञानिक खोज तथा अनुसन्धानका लागि उपयोगी कुनै पनि तथ्यांक हामीसँग थिएन ।
विज्ञानको विकास समयक्रमसँगै भैरहेको छ, तर भूकम्पको हकमा खोज र अनुसन्धानहरु जति विश्वव्यापी सबै तिर लागु हुने खालका हुन्छन त्यो भन्दा धेरै आवश्यकता हामीलाई आफ्नै ठाऊँको खोज, अनुसन्धान, यसको प्रकृति, भविष्यमा आउन सक्ने कम्पनहरुको प्रकृति आदिको छ ।
अहिलेको भूकम्पमा पनि हामीले देख्न सक्छौं के सबै ठाऊँमा घरहरु उही प्रकृतिमा भत्केका छन र ? उस्तै प्रकृतिका घरहरु पनि किन कहिं भत्किएका छन कतै छैनन त ? घर या संरचना भत्कने या नभत्कने भन्ने पहिले कुरो यो कति बलियो छ भन्नेमै भर पर्यो । तर यससँगै अर्को महत्वपुर्ण भनेको यो कस्तो ठाउँमा बनेको छ, त्यस ठाउँले भूकम्पिय कम्पनसँग कस्तो ब्यबहार गर्छ ? धेरै हल्लिन्छ या थोरै, छिटो या ढिलो भन्ने कुराहरु पनि मुख्य हुन्छन। यदि हामीले बेलैमा भूउपयोग नीति लिएर यसको कार्यान्वयन गरेको भए आज निकै कम मात्र क्षति हुने थियो।
यसपटकको प्रलयकारी भूकम्प र यसका पराकम्पनहरुले विश्वभरिका बैज्ञानिकहरुको ध्यान खिचेको छ। अध्ययन अनुसन्धानका लागि आवश्यक तथ्यांकहरु संकलन भएका छन, विशेषगरी विभिन्न ठाउँको भूकम्पिय कम्पनको डाटा जुन निकै महत्वपुर्ण हुन्छ। अब नेपालकै बारेमा नेपाली तथा विदेशी धेरै अनुसन्धानकर्ताहरुले काम गर्नेछन्, हामीले हाम्रै देशको विविध वैज्ञानिक तथ्यांकहरुका आधारमा भवनहरुको डिजाईन गर्ने, जमिनहरुको बर्गिकरण गर्ने र त्यही अनुरुप निर्माण गर्ने काम अब सहज हुनेछ। यस अघि आवश्यक डाटाहरुको अभावमा हामीले अन्य देशका संहिताको आधारमा रहेर भवन संहिता बनाएका थियौं तर अब हामी आफ्नै भौगोलिक आधारमा यसो गर्न सक्छौं।
अबको समय पुन निर्माणको हो तर यो व्यवस्थित हुनुपर्छ, यो नवनिर्माणको हुनुपर्छ। हामीले पहाडदेखि तराई सम्मका विविध क्षेत्रहरुको प्रारम्भिक अध्ययन गरी केही महिना भित्रैमा धेरै जोखिम हुने क्षेत्रका बस्तिहरु सामाजिक, सांस्कृतिक पाटोलाई समेत ख्याल गर्दै स्थानान्तरण गर्नुपर्छ। निर्माण र डिजाईनमा नयाँ आचारसंहितहरु बनाएर कडाईका साथ लागु गर्नु पर्छ। हाम्रै स्थानीय सामाग्रीहरुकै प्रयोग गरेर कसरी बलिया घर या अन्य संरचना बनाउने भन्ने बारेमा अब अनुसन्धानहरु हुनुपर्छ ।
हामीले हेर्न सक्छौं ठुला ठुला भूकम्पहरु गैरहने देशहरुमा अहिले सुनामी बाहेक भुकम्पकै कारण ज्यान जाने क्रम निकै कम छ जहाँ बैज्ञानिक अनुसन्धानहरुलाई बढावा दिएर आवश्यक संहिता लागु गरिएको छ। भूकम्प आउने क्रम रोक्न सकिदैन तर क्षति निकै कम गर्न सकिन्छ। अझै केही समय पराकम्पनहरु रहिरहन सक्छन तर पनि मुख्य कुरा हामी अब मानसिक रुपमा कमजोर हुदै जानु हुदैन, यस शोकलाई शक्तिमा बदल्नुपर्छ। अबको पुस्ता भूकम्पसँग नडराउने वातावरण बनाउने जिम्मा हामी सबैको हो। त्यसैले अब हाम्रो आगामी पुस्ताले यस्तो त्रासदी र विपद बेहोर्नुपर्ने छैन भनेर प्रण गरौं सबै पक्षले। त्यसैले सबैले भनौं "We are now Strong, We Will Rise Again" स्रोत उज्यालो अनलाईनबाट ।
– लेखक पराजुली जापाको क्योटो विश्व विद्यालयबाट भूकम्प सम्बन्धी विषयमा विद्यावारिधी गर्दै हुनुहुन्छ l
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.