Mero Samay

  • Latest News

    Jul 23, 2014

    दरबार हत्याकाण्डमा विर्सनै नसक्ने १० विषय । (बाकिँ पाँच विषय)

    ६. त्यो घटनामा कुनै षडयन्त्र थिएन - डा. उपेन्द्र देवकोटा


    १९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो।

    मैले ती तीन दिनमा जे देखेँ 

    -डा. उपेन्द्र देवकोटा-

    आर्मीको केटोले मोटर हाँकेको ताल देख्दै मैले युवराजलाई ठूलै अनिष्ट भएछ भन्ने अनुभव गरिसकेको थिएँ। अस्पतालको ढोकैदेखि सैनिक कर्मचारीहरूको भागदौड देखिन्थ्यो। प्रस्ट थियो, मलाई यहाँ ल्याउनेहरू सीधै माथि युवराज भएका ठाउँमा लैजान चाहन्थे, तर बीचैमा अरूले तानेर ‘ट्रमा हल’ तिर लगे। कोही ‘यता डाक्टरसा’ब’ भन्दैथिए त कोही ‘माथि डाक्टरसा’ब’ भन्दैथिए।

    त्यतिबेलासम्म मैले युवराजलाई गोलीको चोटपटक लागेको छ भन्ने कुरा मात्र थाहा पाएको थिएँ। मलाई हलतिर डोर्याउँदै सबैभन्दा पहिले देब्रेतिर एक बिरामी भएपट्टी लगियो। बिरामीको अनुहार पूरै फुङ्ग उडेको, कमीज, सुरुवाल र अलिअलि फुलेको कपाल रगतपच्छे भएको र घाँटीमा साईबाबाको लकेट झुण्डिएको थियो। बिरामीलाई एयर ब्यागको मद्दतले सास फेर्न सघाउन खोजिँदैथियो। मैले थाहा पाईन बिरामी को थियो, तर निर्जीव छ भन्ने कुराको भेउ टाढैबाट पाईसकेको थिएँ। मैले आँखा हेरेँ, नाडी छामे र भनेँ, “बितिसके।”

    त्यसपछि डाक्टर खगेन्द्र श्रेष्ठले “बर्बादै भयो, कोही बाँकी छैनन्, सबैको संहार भएको छ” भन्दै मलाई हलको पल्लो छेउतिर लैजानुभयो। त्यहाँ सेतो तन्नाले ढाकिएको एउटा शव थियो। उहाँले तन्ना हटाउनुभयो र भन्नुभयो, “श्री ५ बडामहारानी सरकार !” बडामहारानीको टाउकोको माथिल्लो भाग क्षत-विक्षत भएको थियो। मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उहाँले मलाई भुइंमा भएको अर्को स्ट्रेचरतिर डोर्याउनुभयो र तन्ना हटाउँदै भन्नुभयो, “अधिराजकुमार निराजन सरकार ! र, यता अधिराजकुमारी शारदा !” मलाई यत्ति नै काफी भैसकेको थियो।

    डाक्टर श्रेष्ठले फेरि अर्को स्ट्रेचर भएतिर लैजानुभयो, जहाँ एकजना बिरामीलाई पुनर्जीवन दिने प्रयास गरिँदैथियो, र भन्नुभयो, “अधिराजकुमारी श्रुति।” जीवित एकजना त देखेँ, तर बिरामीको अवस्था एकदम नाजुक थियो, मुटु मुश्किलले चलिरहेको थियो, नाडी चलेको थिएन, झट्ट हेर्दा कुनै बाहिरी चोटपटक देखिँदैनथ्यो, त्यसैले मैले भन्ठानेँ आन्तरिक रक्तस्राव वा फोक्सोको बाहिरी र भित्री पत्रबीच हावा भरिएर फोक्सोले काम नगरेको अवस्था हुनसक्छ। अधिराजकुमारीको टाउकोमा चोट थिएन र अरू डाक्टरहरूले हेरिराखेका थिए, त्यसैले डाक्टर श्रेष्ठले मलाई हतार-हतार साईबाबाको लकेट लगाएको उही मैले भित्र पस्ने बित्तिकै देखेको बिरामीतिर लैजानुभयो र भन्नुभयो, “श्री ५ महाराजाधिराज सरकार !”

    मेरो लागि सबैभन्दा भारी क्षण त्यही थियो। म झसङ्ग भएँ सम्पूर्ण राजपरिवारको अन्त्य ! यतिबेलासम्म पनि मलाई के भएको हो भनेर कसैले भनेको थिएन, तर मैले यो सबै गोलीको चोटपटकले हो भन्ने बुझिसकेको थिएँ। म के अनुमान लगाउन थालेँ भनेँ, यो जसले गरेको भए पनि पूरै राजपरिवारलाई सिध्याउन खोजेको रहेछ। मेरो दिमागमा विभिन्न सम्भावनाका कुरा खेल्न थालेः सेनाले हो ? कि माओवादीले ? तर मैले कसैलाई सोधिनँ, राजाप्रति आफ्नो अन्तिम सम्मान प्रकट गरेँ र बाहिर निस्केँ।

    मलाई तीन वर्षअघि काठमाडौँमा अन्तर्राष्ट्रिय न्यूरोर्सर्जिकल सम्मेलन हुँदा राजासँग भेटेको झझल्को आयोः उहाँ अति भद्र होइबक्सन्थ्यो र देशको लागि अत्यन्त चिन्ता गरिबक्सन्थ्यो। श्री ५ को निधन भएको कुरा स्वीकार गर्न निकै कठिन थियो। मेरो लागि मैले आफ्नै मातापितालाई गुमाए जस्तै ठूलो क्षति थियो त्यो।

    त्यसपछि म माथिल्लो तलातिर लागेँ। सैनिक स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई अवस्था अनुसार प्राथमिकता दिएर राखेका थिए। अपरेसन गर्दा लगाउने हरियो लुगा फेरेर म अपरेसन थिएटरमा पसेँ। बाटोमा चारजना अरू घाइते बिरामीहरू थिए जसलाई मैले त्यतिबेला चिनिनँ। युवराजको टाउकोको दुवैतर्फ दुईवटा घाउ थिए, जसबाट रगत र गिदीका टुक्राहरू बाहिर निस्केको देखिन्थ्यो। युवराजलाई ‘अन्डरवेयर’ बाहेक सबै कपडा फुकालेर सुताईएको थियो। शरीरमा अरू घाउचोटहरू थिएनन्। छातीमा सास फेर्न सजिलो पार्ने ट्यूब हाल्ने र सलाईन पानी दिने काम भैसकेको थियो र यो सबै बडो कुशलतापूर्वक गरिएको थियो। मनिटरमा रक्तचाप र मुटुको चाल ठीकै देखिन्थ्यो- अधिकतम ११० र न्यूनतम ७० वा ८०। आँखाका नानी फैलिसकेका र अचल थिए, तर हातखुट्टा भने चलेका थिए। यसको अर्थ, मस्तिष्क अझै मरिसकेको थिएन। युवराज सास फेर्न प्रयास गरिबक्सँदै थियो भने स्वास्थ्यकर्मीहरू रबर ब्यागबाट हावा दिएर सास फेर्न सजिलो पारिदिँदै थिए।

    त्यतिबेलाको मेरो मूल्याङ्कनमा युवराजको बेहोसीको अवस्था ‘ग्लास्गो कोमा स्कोर’ मा ४ थियो, ३ होईन जुन भनेको एकदमै न्यूनतम हो। तर बचाउने सम्भावना धेरै कम थियो। हामीले यथासम्भव राम्रो उपचारको प्रयास र कुनै चमत्कार नै हुनसक्ने मौका सिर्जना गर्नुपर्ने थियो। युवराजको उपचारमा एकदमै कुशल स्वास्थ्यकर्मीहरू संलग्न थिए। हामीले युवराजलाई कृत्रिम श्वास-प्रश्वास उपकरणमा राख्यौँ र अपरेसनको लागि चार पोका रगत जुटायौँ। हामीसँग सैनिक अस्पतालका न्यूरोर्सजन डाक्टर शर्मा हुनुहुन्थ्यो, वीर अस्पतालका प्लाष्टिक र्सजन डाक्टर जोशीलाई बोलाईयो र सौभाग्यवश, अपरेसन थिएटरका सहयोगीहरू पहिले मसँगै एभरेष्ट नर्सिङ होममा काम गरेका स्वास्थ्यकर्मीहरू थिए। उनीहरू मेरो काम गर्ने तरिकासँग परिचित भएकाले सजिलो भयो। तर अपरेसनमा हात हाल्नुअघि मैले न्यूरोर्सर्जिकल केसका अरू घाईतेहरू पनि छन् कि भनेर हेरेँ।

    धीरेन्द्र होसमै हुनुहुन्थ्यो, तर उहाँ बढी स्वाँ-स्वाँ गरिरहनुभएको थियो। अधिराजकुमारी कोमलको छातीमा घाउ थियो, गोलीले धन्न मुटु भेटेको रहेनछ। कुमार गोरख पनि त्यहीँ हुनुहुन्थ्यो। केतकी चेष्टरको कुममा चोट लागेको थियो र उहाँ अलिअलि बोल्न सक्नुहुन्थ्यो। युवराजको देब्रे कानको ठीक पछाडि गोली छिरेको एक सेन्टिमिटर चौडा घाउ थियो। दाहिनेपट्टि कानभन्दा माथि चाहिँ अलि ठूलो गोली निस्केको घाउ थियो। त्यहाँ मैले बिरामीलाई राम्रो उपकरण र दक्ष जनशक्ति भएको वीर अस्पतालको न्यूरोर्सजरी सघन उपचार कक्ष (आईसीयू) मा लैजानु पर्छ कि भन्ने बारे निर्णय लिनुपर्ने भयो। तर स्थानान्तरणले विरामीको बाँच्ने झिनो आशा अझै कम गरिदिन सक्छ भन्ने मलाई लाग्यो। हामीले पछि एमआरआई गर्न बाधा नहोस् भनेर टाउकोमा धातुका टुक्राहरू छन् कि छैनन् थाहा पाउन युवराजको मष्तिष्कको एक्स-रे गर्यौँ। टाउकोमा धातु रहेनछ। भित्र धातु रहेको अवस्थामा एम्आरआई गर्नु ठूलो भूल हुन्थ्यो। हामीले देब्रेपट्टिको घाउ खोलेर ठूलो पार्यौँ, गिदीका मृत तन्तुहरू हटायौँ, घाउ सिलायौँ, बिरामीलाई अर्कोतिर फर्कायौँ र निर्धारित प्रक्रिया अनुसार, अपरेसन गर्दा काटिएको ठाउँमा हुने रक्तस्राव रोक्न काटेको भाग डामेर डढाउँदै जाने, हाडका टुक्राटुक्री हटाउने र पछि हुनसक्ने संक्रमणको उपचारका लागि मष्तिष्कको आवरणलाई अलिकति खुला राख्ने काम गर्यौँ।

    त्यसपछि डाक्टर जोशीले छालाको बाहिरी पत्र मिलाईदिनुभयो। बल्ल मैले र्सजनको कोठामा जाने समय पाएँ। त्यहाँ गएर केही साथीहरूसँग कुरा गरेपछि मात्र थाहा भयोः तिनै युवराज, जसको भरखरै मैले अपरेसन गरेँ, बाट यो सबै भएको रहेछ। यो सुनेपछि मलाई एक हिसाबले व्यक्तिगत रूपमा केही राहत महसूस भयो। निश्चय नै, राजपरिवारको लागि यो भयङ्कर विपत्ति थियो, तर कुनै बाहिरी शक्तिको काम भईदिएको भए देशकै लागि झन् अनिष्टकर हुनसक्थ्यो। समय बितेको पत्तै पाएनछु, बाहिर उज्यालो हुन थालिसकेछ। हामीले एम्आरआई गर्यौँ। गोली मष्तिष्कको धेरै भागमा क्षति पुर्याई आन्तरिक रक्तस्राव समेत गराएर पार भएको रहेछ। यो सबै साह्रै नराम्रो लक्षण थियो। उपचारको योजना सुनिश्चित नै थियो- बिरामीलाई आईसीयूमा लैजाने, एन्टिबायोटिक जारी राख्ने, मष्तिष्कमा पर्ने चाप घटाउन कृत्रिम श्वास-प्रश्वास जारी राख्ने, टाउकोलाई ३० ड्रि्री कोणमा उठाईदिने।

    यति गरेपछि डाक्टर श्रेष्ठ “हामी अब छुट्टिअ‍ौँ र भोलि बिहान दश बजे भेटौँ” भन्दै हुनुहुन्थ्यो, त्यत्तिकैमा अधिराजकुमार ज्ञानेन्द्र कुनै पनि बखत आईपुग्न सक्ने खबर आयो र पर्खेर बस्यौँ। अबको परिस्थिति सम्हाल्न कमसे कम राजपरिवारका एक जना त जीवितै छन् भन्ने खबरले सैनिक अस्पतालमा केही राहत अनुभव गराएको महसूस हुन्थ्यो। अधिराजकुमारको आगमन भयो। उहाँ सबै मृत र घाईतेहरूको छिटोछिटो निरीक्षण गर्दै माथि पुस्तकालयमा सवारी भयो र डाक्टर श्रेष्ठ र मलाई त्यहीँ बोलाईबक्स्यो। अधिराजकुमारले मलाई हेरेर सोधिबक्स्यो, “भन्नुस्, युवराजलाई कस्तो छ -” मैले बिना कुनै संशय स्थिति अवगत गराएँ, “टाउकोमा निधारको पछाडिपट्टि मष्तिष्क छेडिएको घाउ भएको अवस्था सामान्यतया घातक नै हुन्छ।” मैले युवराज अझै जीवित भए पनि बाँच्ने सम्भावना एकदमै क्षीण भएको बताएँ। अधिराजकुमार असाध्यै गम्भीर तर अविचलित होईबक्सन्थ्यो। उहाँलाई मैले संयमित, निर्णय क्षमता नगुमाएको र समयप्रति सजग पाएँ। उहाँहरूलाई जनतालाई के बताउने, सञ्चारमाध्यमलाई के जानकारी दिने भन्ने समस्या थियो। तर मैले के भन्नै पर्छ भने औषधोपचारको मामिलामा कुनै प्रकारको हस्तक्षेप भएन।

    हामी बिहान दश बजे भेट्ने सल्लाह गरेर छुट्टियौँ। घर गएर नुहाईधुवाई सकेको मात्रै थिएँ अस्पतालबाट बिरामीको स्थितिको पुनः मूल्याङ्कनको लागि नौ बजे आईपुग्न फोन आयो। मैले अस्पताल फोन गरेँ र बिरामीलाई लठ्याउन दिईएका सबै औषधिहरू बन्द गर्न अह्राएँ। म त्यहाँ नौ बजे पुग्दा युवराजको अवस्थामा केही सुधार भएको थियो, उहाँ खुट्टा चलाउने, सास फेर्ने र खोक्ने प्रयत्न गरिबक्सँदै थियो। अवस्था त्यति राम्रो नभए पनि हिजो जत्तिकै थियो र हाम्रो अगाडि जोडतोडका साथ उपचार जारी राख्ने सिवाय अरू विकल्प थिएन। हामीले माथि यही खबर गर्यौँ, र मेरो विचारमा त्यसपछि राजा वीरेन्द्रको स्वर्गारोहण भएको र युवराज दीपेन्द्रलाई श्री ५ महाराजाधिराज तथा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक घोषणा गर्ने प्रक्रियाको सुरूआत भयो। आइतबार एकदमै धपेडीको दिन रह्यो। हामीले धीरेन्द्रलाई हेर्नुथियो र दिनभरि केही खान पाएका थिएनौँ। त्यही दिन साँझपखदेखि राजा दीपेन्द्रको अवस्था द्रुतगतिले खराब हुँदैगयो। स्वास्थ्यकर्मीहरूको बैठक बस्यो।

    हामीले अधिराजकुमार ज्ञानेन्द्रलाई भेट्यौँ, बाँच्ने आशा शून्य रहेको अवगत गरायौँ र विकल्पहरू बतायौँ परिवारजनको पूर्ण सहमतिमा कृत्रिम श्वास-प्रश्वास उपकरण बन्द गर्ने, कि प्रकृतिको नियमअनुसार स्वाभाविक रूपमा मुटु चल्न नछाडेसम्म यथावत राख्ने। अधिराजकुमार ज्ञानेन्द्रद्वारा सबै कुरा सुनिबक्स्यो र हुकुम भयो, “म यसबारे मुमासँग सल्लाह गर्छु” उहाँ छिट्टै फर्किबक्स्यो र हुकुम भयो, “ठीक छ डाक्टर, प्राकृतिक रूपले मुटु चल्न नछाडेसम्म उपचार जारी राख्नुस्।” साथै भाइ (धीरेन्द्र) लाई बचाउन हरसम्भव प्रयास गर्न पनि हुकुम भयो।

    सोमबार बिहान सबेरै राजा दीपेन्द्रको मुटु चल्न छाड्यो। कृत्रिम तरिकाबाट व्युँताउन गरिएको प्रयास पनि निष्फल रह्यो। उहाँलाई हामीले युवराजको रूपमा उपचार शुरु गरेका थियौँ र राजाको रूपमा गुमायौँ। त्यो घटनामा कुनै षड्यन्त्र थियो कि भनेर सोध्नुहुन्छ भने मैले भन्नै पर्छ, प्रत्यक्षतः थिएन। तर यो देशमा षडयन्त्र छ। त्यो षडयन्त्र हो, हाम्रा युवाहरूलाई लागू औषधको कुलतमा फँसाउने। राजपरिवार पनि यसबाट अछुतो रहेनछ। यो षडयन्त्र लागू पदार्थको धन्दा गर्ने माफियाको हो। (नेपाली टाइम्स, अङ्ग्रेजी साप्ताहिक २२-२८ जून, 2001 मा प्रकाशित विवरणमा आधारित)

    ७. दिपेन्द्रलाई राजा बनाउन खोज्दा राजपरिषदमा विवाद 


    ज्ञानेन्द्र अधिराजकुमारबाट प्रमोशन भएको यो दिन
    दीपेन्द्र राजा, ज्ञानेन्द्र राज्यसहायक बनेको यो दिन
    जेठ २० गतेदेखि नै ज्ञानेन्द्रको हातमा सत्ता आइसकेको थियो। सिकिस्त घाइते भएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिए पनि राज्य सहायक भने ज्ञानेन्द्र भएका थिए। घण्टौँको अन्यौलपछि राजपरिषद्को बैठकले राजा वीरेन्द्रको मृत्यु भएको अ‍ौपचारिक घोषणा गरेको थियो। त्यो दिन सेनाले कू गर्छ भन्ने निकै हल्ला थियो। दरबारको समाचार छाप्ने समाचारपत्रको कार्यालयमा सेनाले घेरा हाल्यो भन्ने हल्ला फैलिएपछि हामी पनि बिहानको विशेष संस्करण निकालेर केही पनि हुनसक्ने भन्दै कार्यालयबाट निस्केर सुरक्षित हुन खोजेका थियौँ। राजपरिषद्को बैठक बसेको भवनबाहिर उत्तेजित भीडले दीपेन्द्रलाई हत्यारा भन्दै समाचार प्रसारण गरेको रिसमा जीन्युजका नेपालस्थित संवाददातालाई झण्डै कुटेका थिए।
    जताततै अन्यौल थियो। रेडियो र टेलिभिजनले समाचार नै प्रसारण गरेको थिएन। खाली एकोहोरो धूनमात्रै बजाइरहेको थियो। विदेशी सञ्चारमाध्यमहरु भने लगातार समाचार दिँदै थिए। अन्ततः आजको दिन यति नै बेला अर्थात् दिउँसो १ बजे राजपरिषदका अध्यक्ष केशरजंग रायमाझीले यस्तो घोषणा गर्दै दीपेन्द्र हिजैदेखि अर्थात् जेठ १९ गतेदेखि नै राजा बनाइएको बताए।

    राजपरिषदमा विवाद
    राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए।
    राजपरिषद्का सदस्य जयप्रकाशले घटनाको वास्तविकता के हो थाहा पाउनुपर्यो, त्यसबारे मुलुकले नै जान्न चाहेको छ भनी बैठकमा आवाज उठाएका थिए र त्यसमा कतिपय सदस्यले सहमति जनाएका थिए।

    श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव शारीरिक रूपमा अशक्त होइबक्सेकाले कार्यभार वहन गर्न अर्समर्थ होइबक्सेको कारण जनाई नेपाल अधिराज्यको संविधानको धारा ३४ को उपधारा (७) बमोजिम मौसुफका काका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई नेपाल अधिराज्यको राज्य सहायक घोषणा राजपरिषद्को बैठकमा डा. रायमाझीले गर्नुभएको थियो।

    त्यही बैठकमा सभापति डा. रायमाझीले औपचारिक रूपमा पहिलो पटक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव शुक्रबार सवा नौ बजे राति नारायणहिटी राजदरबारमा स्वर्गारोहण होइबक्सेको घोषणा गर्नुभएको थियो। मौसुफका मुमा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाह तथा भाइ श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहको पनि स्वर्गारोहण होइबक्सेको घोषणा गर्नुभएको थियो। राजपरिवारका अरू सदस्यका बारेमा भने समितिको निर्णयमा केही उल्लेख छैन।

    बिहान नौ बजेका निम्ति बैठक निर्धारित गरिए पनि औपचारिक रूपमा सवा बाह्र बजे मात्रै बैठक सुरु भएको थियो। सभापति रायमाझीको कार्यकक्षमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र पूर्वप्रधानमन्त्रीहरूबीच दुइ घन्टा लामो अनौपचारिक छलफलपछि राजपरिषद्को औपचारिक बैठक बसेको थियो। त्यही अनौपचारिक बैठकमा प्रस्तावको मस्यौदा तयार गरिएको थियो।

    कान्तिपथ बहादुर भवनस्थित राजपरिषद्को भवनअघि राजदरबारमा भएका घटना सुन्नका निम्ति बिहानैदेखि ठूलो जनसमूह एकत्रित भएको थियो।

    त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो-

    श्री ५ युवराजाधिराज दीपेन्द्र महाराजाधिराज घोषित
    मौसुफ उपचार्रार्थ अस्पतालको सघन कक्षमा/श्री ५ अधिराजकुमार ज्ञानेन्द्र राज्यसहायक
    काठमाडौँ, जेठ २० गते। परम प्रजावत्सल परम आदरणीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव गएराति ९.१५ बजे नारायणहिटी राजदरवारमा स्वर्गारोहण होइबक्सेको हुँदा नेपाल अधिराज्यको संविधान, २०४७, राजगद्दी उत्तराधिकारीसम्बन्धी कानुन, रीत र परम्पराअनुसार मौसुफका ज्येष्ठ सुपुत्र श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव हिजोको मितिदेखि श्री ५ महाराजाधिराज होइबक्सेको छ।

    राजपरिषद्को आज बसेको आकस्मिक बैठकले सो घोषणा गरेको हो।

    साथै, श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव शारीरिक अशक्तावस्थाका कारणले हाल वीरेन्द्र सैनिक अस्पताल छाउनीमा सघन उपचार अवस्थामा होइबक्सेकाले नेपाल अधिराज्यको महाराजाधिराजको हैसियतले कार्यभार वहन गर्न अर्समर्थ होइबक्सेको, मौसुफका मुमा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी र भाइ श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाह स्वर्गे होइबक्सेकोले आजै बसेको राजप्रतिनिधि परिषद्को बैठकले नेपालअधिराज्यको संविधान, २०४७ बमोजिम र्स्वर्गवासी महाराजाधिराजका माहिला भाइ मौसुफका काका श्री ५ अधिराजकुमार ज्ञानेन्द्र वीर विक्रम शाहलाई नेपाल अधिराज्यको राज्यसहायक घोषणा गरेको छ।

    नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ३४ -५) अनुसार बसेको राजपरिषद्को आकस्मिक बैठकले सो निर्ण्र्ाागरेको हो।

    आफ्ना प्यारा राजा र राजपरिवारका अन्य सदस्यहरूको स्वर्गारोहण भएको अनौपचारिक जानकारी पाएका राजधानीवासीहरू राजपरिषद्को आकस्मिक बैठक बिहान ९ बजे बस्ने सूचना रेडियो नेपालबाट थाहा पाउनासाथ राजपरिषद्को कार्यालय भवन अगाडि जम्मा भएका थिए।

    तर, राजपरिषद् सदस्यहरू जम्मा हुन केही समय लागेका कारण बैठक दिउँसो १२ः१५ बजे मात्र शुरु भएको थियो। सो बैठकले गरेको निर्ण्र्ााराजसभा स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीले सुनाउनु भएपछि मात्र श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाह र श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाहको दुःखद् स्वर्गारोहण भएको र वर्तमान श्री ५ महाराजाधिराज अशक्तावस्थामा सघन उपचारमा रहिबक्सेको औपचारिक जानकारी र्सार्वजनिक भएको थियो।

    त्यसअघि राजपरिषद् स्थायी समितिको बैठक बसेको थियो। त्यसपछि परिषद्को बैठकमा श्री ५ महाराजाधिराजको घोषणा तथा राज्यसहायकको घोषणा गरिएको थियो।
    राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रियसभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, मन्त्रीहरू, प्रमुख विपक्षी दलका नेता माधवकुमार नेपाल, पर्ूव प्रधानमन्त्रीहरू, प्रधान सेनापति, प्रहरी महानिरीक्षकलगायत परिषद्का पदेन र अन्य सदस्यहरूको उपस्थिति थियो।
    बैठक बस्नुअघि परिषद् भवनमा उपस्थित हुनुभएका सदस्यहरू अत्यन्त शोकाकुल मुद्रामा हुनुहुन्थ्यो। कतिपय सदस्यहरू सो अवस्थामा रोइरहनुभएको देखिन्थ्यो।

    राजपरिवारमा हिजो राति भएको दुःखद काण्डको पीडादायी समाचार थाहा पाएपछि आज बिहानैदेखि राजधानीबासीहरू नारायणहिटी राजदरबार तथा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल आसपास पुगेका थिए भने धेरैजसो सो घटनाको विस्तृत जानकारी पाउनका लागि विभिन्न सञ्चार उपकरणहरूको समीपमा रहेका थिए।

    मौसुफहरूको स्वर्गारोहण भएका कारण राजधानी स्तब्ध थियो। पसलहरू सामान्य मात्र खुलेका थिए भने सवारीका साधनहरू ज्यादै नै कम चलेका थिए। राजधानीका हरेक गल्लीहरूमा समेत शोकाकुल जनसमुदायको भीड लागेको थियो।


    ८. स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे


    अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी।
    ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ-

    प्यारा देशवासीहरू,
    अस्ति राति घटेको दुर्घटनाले हामी सबै नेपालीको जीवनमा गहिरो आघात पुर्याएको र सुखद पारिवारिक जमघटमा भएको कहालीलाग्दो अप्रत्याशित घटनाले सम्पूर्ण नेपालीलाई व्याकुल पारेको छ ।
    हामीलाई प्राप्त विवरणअनुसार उक्त घटना आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाह, श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहसमेत अन्य शाही परिवार नातेदारहरू गम्भीर रूपमा घाइते होइबक्सी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारको लागि लगिएको थियो ।

    चिकित्सकहरूको अथक प्रयास हुँदाहुँदै पनि श्री ५ महाराजाधिराज जेठ १९ गते शुक्रबार हामी सबैसित सधैंको लागि बिदा होइबक्सँदै स्वर्गारोहण होइबक्स्यो ।

    साथै श्री ५ बडामहारानी, श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह तथा राजपरिवारका अन्य सदस्यहरू श्री ५ अधिराजकुमार श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह र श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी देवी शाह पनि स्वर्गारोहण होइबक्स्यो । यसै गरी शाही नातेदार कुमार श्री खड्ग विक्रम शाहको पनि स्वर्गारोहण भयो । यस शोक समाचारबाट विह्वल भएका हामी सबैले श्रीपरमेश्वरको टारेर नर्टर्ने यस इच्छालाई स्वीकार गर्न बाध्य हुनुपरेको छ ।

    प्रजावत्सल श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव स्वर्गारोहण होइबक्सेको हुँदा नेपाल अधिराज्यको संविधान, २०४७, राजगद्दी उत्तराधिकारसम्बन्धी कानुन रीत र परम्पराअनुसार राजपरिषद्को बैठकले मौसुफका ज्येष्ठ सुपुत्र राजगद्दी उत्तराधिकारी श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव २०५८ साल जेठ १९ गतेदेखि नेपाल अधिराज्यका श्री ५ महाराजाधिराज होइबक्सेको घोषणा गरेको छ ।

    तर हामी सबैले आ-आफ्नो कर्तव्यलाई बिर्सन नहुने बेला आएको छ । हाम्रा परमपूज्य मुमाज्यूमाथि आइपरेको यस शोकको बेला सबै देशवासीहरूसहित हामी मौसुफमा श्रद्धाभक्तिपूवक समवेदना चढाउँछौं ।र
    वर्तमान श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव हाल सघन उपचारको अवस्थामा होइबक्सेकोले मौसुफबाट शारीरिक अशक्तताका कारण नेपाल अधिराज्यका श्री ५ महाराजाधिराजको हैसियतले कार्यभार सञ्चालन गर्न अर्समर्थ होइबक्सेकोले नेपाल अधिराज्यको राज्य सहायकको अभिभारा हाम्रो काँधमाथि आइपरेको छ ।
    नेपालको गौरवमय स्वतन्त्रतालाई सदा अटुट राखिबक्सूदै श्रद्धेय दाज्यूबाट देश र जनताको भलाइको निम्ति गरिबक्सेका योगदानले हाम्रो इतिहासमा मौसुफको स्थान सधैं अटल रहनेछ । मौसुफको अन्त्येष्टि समारोहको अवसरमा प्यारा देशवासीहरूले दर्साएको स्वतःस्फूर्त सम्मानलाई हामीले मौसुफप्रतिको सदाशय र स्नेहको द्योतकका रूपमा लिएका छौं ।

    मौसुफबाट बक्सेको मार्गनिर्देशनलाई मनन गर्दै हामी आफ्नो कर्तव्य नभुली सदाझैं यस विपद्को बेलामा हामी सबै नेपाली एक भई पारस्परिक सहयोग, सद्भावना र मेलमिलाप राखी यस देशको प्रतिष्ठा अक्षुण्ण राख्ने मौसुफको सपनालाई साकार पार्न प्रयत्नशील हुनेछौं । यस कार्यमा सबैको सहयोग पाउनेछु भन्ने कुरामा म विश्वस्त छु ।

    यस घडीमा श्रीपरमेश्वरमा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेवको शीघ्र स्वास्थ्यलाभको लागि म सम्पूर्ण नेपालीको तर्फबाट पर््रार्थना गर्दछु । र्स्वर्गवासी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहका साथै यस दुःखद घटनामा दिवंगत होइबक्सेका अन्य राजपरिवारका सदस्यहरू तथा शाही नातेदारको दिवंगत आत्माको चिरशान्तिको लागि पनि श्री परमात्मासूग प्रार्थना गर्दछु । जय नेपाल †

    ९.राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते


    छ वर्षअघि जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्‍याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ।
    कान्तिपुर टिम
    काठमाडौं, २२ जेठ- तीन दिनअघि राजदरबारमा भएको अप्रत्याशित घटना पछि राजधानीमा बढेर गएको तनावका कारण सरकारले सोमबार बेलुका ४ बजेदेखि १३ घण्टा लामो कर्फ्यु जारी गरेको छ। तर कर्फयु सुरु हुनुअघि र पछि शहरमा उत्पन्न आक्रोशमा कारण चार जना व्यक्तिको मृत्यु भएको छ भने ३० भन्दा बढी गोली लागेर घाइते भएका छन्।
    सोमबार बिहान श्री ५ दीपेन्द्रको स्वर्गारोहणको समाचार सुनेपछि शहरमा भेला भएको जनसमूह अझ आक्रोशित बनेको थियो। श्री ५ दीपेन्द्रको स्वर्गारोहणको समाचार सुन्नेवित्तिकै मौसुफको पार्थिव शरीर राखिएको वीरेन्द्र सैनिक अस्पताल वरपर जम्मा भएको जनसमूह निकै आक्रोशित भएको थियो। स्थिति धेरै घन्टासम्म तनावग्रस्त रहृयो। शवयात्राका लागि बाटो खुलाउन प्रहरी अर्समर्थ भएपछि सेनाका जवानले भीडलाई मुश्किलले हटाएका थिए।
    ललितपुर उपमहानगरपालिकाका क्षेत्रमा पनि सोमबार अपरान्ह ३ः३० बजेदेखि मंगलबार बिहान ५ः०० बजेसम्म कर्फ्यु लगाइएको छ।
    दरबार क्षेत्र लगायत हरेक टोल, चोक गल्लीहरुमा स्थानीय जनसमुदायले राजारानी तथा राजपरिवारका सदस्यहरुको तस्वीरमा फूलका गुच्छा र माल्यार्पणका लागि दोबाटो चौबाटोमा राखिएका थिए। यसैगरी, विभिन्न संघ संस्थाले शोक पुस्तिका राखी हस्ताक्षर संकलन गरेका छन्।
    सोमबार बिहान ११ बजे आयोजित समारोहमा ज्ञानेन्द्रले वैदिक र परम्परा विधिअनुरूप राजमुकुट पहिरेका थिए। वडा गुरुज्यू केशरीराज पाण्डेले राजमुकुट पहिराएका थिए। सेनाले १ सय १ तोपको सलामी चढाएको थियो। राज्यरोहण गर्नासाथ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दाम राखेर अभिवादन चढाएका थिए। त्यसपछि क्रमशः प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझी, उपप्रधानमन्त्री रामचन्द्र पौडेल, प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका नेता माधवकुमार नेपाल, संवैधानिक अंगका प्रमुख, सरकारका मुख्य सचिव, प्रधानसेनापति, शाही नेपाली सेना, नेपाल प्रहरी तथा राजप्रासाद सेवाका उच्चपदस्थ अधिकारीले दाम राखेर अभिवादन गरेका थिए।

    तीन दिनअघि राजपरिषद्को बैठकद्वारा घोषित श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव सोमबार बिहान ३.४५ बजे स्वर्गारोहण भएको घोषणा गर्दै उनका सबैभन्दा नजिकका हकदार माहिला काका राजगद्दी उत्तराधिकारी श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराज घोषणा गरेको थियो। चार दिनको अवधिमा तीन जना राजा भएको यो घटना नेपालको इतिहासमा पहिलो हो। राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजंग रायमाझीले सोमबार बिहान सवा दश बजे राजपरिषद्को आकस्मिक बैठकमा उक्त घोषणा गरेका थिए। जम्मा सात मिनेट जति बसेको राजरिषद्को बैठकमा डा. रायमाझीले श्री ५ महाराजाधिराज घोषणा गरिएको प्रस्ताव पढेर सुनाएका थिए। राजपरिषद्को घोषणापछि ज्ञानेन्द्रको राज्यरोहण समारोह भएको थियो। ज्ञानेन्द्रको राज्यारोहणलगत्तै गोली हानेर चार जनाको ज्यान लिइएको बारेमा त्यो दिनको कान्तिपुरमा छापिएको समाचार यस्तो थियो-

    राजधानी तनावग्रस्तः चारको मृत्यु, कैयौं घाइते

    प्रहरी सूत्रका अनुसार पुरानो बानेश्वर हाइटका ६३ वर्षय पूर्व डिएसपी पशुपत्रि्रसाद लोहनी, नुवाकोट घर भई सोह्रखुट्टे बसोबास गर्दै आएका दीपक श्रेष्ठ, काभ्रेका रामकृष्ण श्रेष्ठको र नाम नखुलेकी एक बालिकाको सुरक्षाकर्मीले प्रहार गरेको गोलीबाट मृत्यु भएको छ। सोमबार दिनभरको नारा जुलुसमा गोगबु, लाजिम्पाट, कालिमाटि, सामाखुसी, ग्वार्काे, बागबजारलगायतका ठाउँमा गोलीप्रहारबाट ३० जनाभन्दा बढी र्सवसाधारण घाइते भएका छन्। घाइतेहरुको शिक्षण अस्पताल, वीर अस्पताल र अन्य नर्सिङ होममा उपचार भैरहेको छ। तर दिनभरको घटनाका सम्बन्धमा गृह मन्त्रालयका प्रवक्ता गोपेन्द्रबहादुर पाण्डेले ‘आफूलाई केही जानकारी नरहेको’ बताउनुभयो।

    सोमबार बिहान मुलुकका नयाँ राजा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको गद्धी आरोहणको तयारी भइरहेको बेला राजधानीका तीनै शहर तनावग्रस्त थिए। शहरका अधिकांश भाग अश्रुग्यासको गन्धमा रुमलिएका थिए। एकाबिहानैदेखि सडकमा उत्रेको जनसमूहहरूलाई विभिन्न ठाउँमा अश्रुग्यासले तितरबितर पारेपछि मात्रै गद्दी आरोहण सहजै सम्पन्न हुन सक्यो। सोमबार बिहानैदेखि शहरका टोल र गल्लीबाट दर्जनौं साना-ठूला जुलुस निस्किए। राजारानीको तस्वीर बोकेर जुलुसमा निस्कने अधिकांश नागरिक शहरको मध्यभागमा जम्मा हुन पुगेका थिए।

    घटनाको स्पष्ट छानबिनलगायत ‘हत्याराको पहिचान गर्न सम्पूर्ण नेपाली एक भएर आवाज उठाउनुपर्ने’ नारामा अधिकांश नागरिकको एउटै स्वर शहरमा गुञ्जिएको थियो। शहरका भित्री गल्ली र चोकहरुमा स्वर्गीय राजा, रानीको तस्वीर राखेर माल्यार्पण गर्ने, शोक पुस्तिकामा हस्ताक्षर गर्ने एवं निःशुल्क कपाल मुण्डन गर्ने-गराउने लहर नै चलेको थियो।

    झुण्ड झुण्डमा शहरका बिभिन्न भागबाट आएको जुलुस लिएर आएका नागरिक बागबजार, रत्नपार्क, दरबारमार्ग, पुतलिसडक, कमलादी, लाजिम्पाट, ठमेल, पानीपोखरीलगायतका ठाउँमा जम्मा भएका थिए। प्रदर्शनकारीले बरोबर राजदरबार वरपर एकत्रित हुने अवसर खोजिरहेका थिए। प्रदर्शनकारीहरू मोटरसाइकलबाट पनि आएका थिए। राजदरबार आसपासमा बिहानैदेखि प्रहरी तैनाथ गरिएकाले जुलुस उक्त क्षेत्रमा प्रवेश गर्न पाएन। प्रहरीले मध्यान्ह १२ बजेदेखि अश्रुग्यास, लाठी प्रहार र बल प्रयोग गर्ने काम सुरु गरेको थियो। दिनभरमा सयौं सेल अश्रुग्यास र हवाई फायर गरिएको थियो। झडपमा त्रिचन्द्र क्याम्पसको पर्खाल भत्किएको छ।

    ‘हामी सत्य चाहन्छौं’ भन्दै हिंडेका जुलुसका सहभागी र सुरक्षार्थ खटिएका प्रहरीबीच शहरका विभिन्न भागमा पटक-पटक झडप भएको थियो। बरोबर अश्रुग्यास छाडेर र कतिपय ठाउँमा ढुङ्गा प्रहार गरेर प्रहरीले विभिन्न ठाउँबाट आएर एकत्रित हुन पुगेको ठूलो जन समूहलाई तितरबितर बनाएको थियो। भीड आक्रोशित देखिएपनि कतिपय कपाल मुण्डन गरेका प्रदर्शनकारीहरु स्वर्गीय राजारानीको तस्वीर बोकेर ‘मौन जुलुस’का रुपमा अगाडि बढेका थिए।

    लामो समयदेखि ‘खोज अभियान’मा जुट्दै आएका ८२ बषिर्य भीम थापाले ‘सबै उठ हत्यारा खोज’को नारा सहरका पर्खाल र भित्तामा लेख्न थालेका थिए। शुक्रबार भएको इतिहासकै अकल्पनीय र बिस्मयकारी घटनाले आक्रोश उत्पन्नपछि राजधानीबासी निकै सशंकित र भयभित देखिन्थे। सोमबार मध्यान्हदेखि शहरमा कर्फयु लगाउने हल्ला सुरु भएपछि असन, नरदेवी, क्षेत्रपाटिलगायतका भित्री टोलमा काम विशेषले पुगेका बासिन्दा ‘अब कता जाने’ भन्दै यता र उता दौडिरहेका थिए। पुतलीसडक र शहरका अन्य केही भागमा आपत्तिजनक नारा पनि लगाइएको थियो।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार चार बजेदेखि बुधबार विहानसम्म कर्फयु लगाएपनि कर्फ्यु अवधीमा समेत प्रदर्शनकारीले राजधानीका विभिन्न थलोमा टायर बालेर सडक अवरुद्ध गरेका थिए। प्रदर्शनकारीले मिनभवनमा ट्रलिबस कार्यालयको बा.१ झ.३९६५ नम्बरको मारुती कार र बबरमहलमा एउटा मोटरसाइकल जलाएका थिए भने माइतीघरदेखि बबरमहलका बीचमा किनाराका रुख ढाली बाटो अवरुद्ध गरेका थिए।

    अर्कातिर, र्स्वर्गबासी महाराजाधिराज दिपेन्द्र वीर विक्रम शाहको पार्थिव शरीर चक्रपथ रिङ्गरोडबाट आर्यघाट ल्याइने थाहा पाएपछि त्यस क्षेत्रका बासिन्दाले सडकमा फुल तथा अविर बिछ्याएका थिए। र, कर्फयुको परवाह नगरी सडक किनारासम्म आएर शवयात्रा हेरेका थिए। घरका झ्याल, छत तथा ढिस्कामा बसेर शवयात्रा हेर्नेहरुमा केटाकेटी देखि बूढाबूढीसम्म थिए। सडकको दायाँ-बाँया शाही नेपाली सेना तथा नेपाल प्रहरीका जवानले पहरा दिइरहेका थिए।

    सरकारले पर्याप्त समयको पूर्व सूचना विना कर्फ्यु जारी गरेको भन्दै राजधानीबासीले आक्रोश प्रकट गरेका थिए। स्थानीय प्रशासन ऐन २०२८ अनुसार कफर्यु लागू गर्नुपूर्व पूर्णरूपमा सुसूचित गर्नुपर्छ। काठमाडौंमा कफर््यु जारी गरेपछि स्थानीय प्रशासनले शाही नेपाली सेनाको समेत मद्दत मागेको छ। उक्त मागअनुसार सेनाले सुरक्षाको दृष्टिले सम्वेदनशील मानिएका स्थानहरुमा चेक प्वाइण्ट स्थापना गर्ने र गस्ती -पेट्रोलिङ) गर्ने कार्य गरिरहेको छ।

    कर्फ्युमा सेनाले संवेदनशील ठाउमा चेक प्वाइण्ट खडा गरि वेरियर समेत राखि सडक बन्द गर्ने प्रचलन छ र सेना र प्रहरीको गस्ति टोलीले सिधा गोली हान्ने, शंकास्पद घरमा खानतलासी गर्ने जस्ता कार्य गर्न सक्ने गरि पूर्व आदेश पाएका हुन्छन्। राजधानीमा सोमबारदेखि लागेको कफर्युमा बालाजुस्थित १ नं बाहिनी र लगनखेलस्थित राजदलगण १३ नं वाहिनीबाट सैनिक खटिएका छन्। नेपालमा विभिन्न ठाउँमा पटक-पटक स्थानीय प्रशासनले कफर्यु लगाएको भए पनि सैनिक परिचालन गरेर २०४६ सालमा तीन दिन र २०४७ सालमा केही दिन कफर्यु लगाइएको थियो।

    राजदरबारमा भएको घटनाको विरोधमा ललितपुरका विभिन्न भागमा पनि सोमबार नारा, जुलुस प्रदर्शन गरियो। हत्याकाण्डको छानबिन गर्न र हत्यारालाई सजायू माग गरी जुलुशका सहभागीले नारा लगाएका थिए।

    यस्तै, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लेखिएको व्यानर लिएर भक्तपुरबासीले मौन जुलुश निकाले। सुकुलढोकाबाट सुरु भएको जुलुश तौमढी, पाँचतले न्यातपोल मन्दिर, तेखापुखु, दुधपाटी, बसपार्क, दरबार क्षेत्र हुँदै नगर परिक्रमा गरेको थियो। अर्को एक समूहले नारासहितको जुलुश प्रदर्शन गरेको थियो।

    मध्यपुर ठिमी नगरको संखधर साख्वः चोक र ठिमीका विभिन्न ठाउँमा राजारानीको फोटामा माल्यार्पण गरिएको थियो। प्रत्येक पाटीपौवामा शोकाकुल वृद्धवृद्धा भगवानको नाम जपिरहेका भेटिन्थे। नगरका सम्पूर्ण पसलहरु तथा सवारी साधन बन्दरहेका थिए। नगरबासीहरु कोही हातमा रेडियो लिएर पाटीमुनि झमझम परेको पानीमा ओत लागिरहेका देखिन्थे।

    राजगद्दीमा नयाँ राजा आरोहण गरिसकेपछि परम्परागत रुपमा राजदरबार दही पुर्याउने प्रचलन धान्दै आएका भक्तपुरका एकथरि नेवारहरु काठमाडौंमा व्याप्त तनावबाट अत्यासमा परेका थिए। सिंहदरबारबाट पुतलीसडक हुँदै राजदरबार जान हतारिएका देखिन्थे।

    १०.मास्क लगाएकोले हत्या गर्न सक्दैन् । 

    शाहको पुस्तक ‘मैले देखेको दरबार’ र ‘भटट प्रतिवेदन’ उस्तै

    दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुप‍ैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।
    जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ? 
    यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।
    शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।
    घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?
    पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
    उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)

    दीपेन्द्रको रामकहानी

    दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।
    दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।
    त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्‍ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्‍न पनि उनले भ्याएका छन्।

    भारतको हात ?

    उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।
    हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्‍नेहरुका लागि राम्रो छ। रुचि नराख्‍नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्‍नेछु। साभार मेरोसंसार बाट



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: दरबार हत्याकाण्डमा विर्सनै नसक्ने १० विषय । (बाकिँ पाँच विषय) Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top