Mero Samay

  • Latest News

    Oct 19, 2015

    अधिवक्ता दिपेन्द्र झालाई खुला पत्र,


    दाजु नमस्कार, 
    कसरी चिनाउँ म तपाईँलाई? तपाईँले त आफुलाई नेपालमा जन्मिएको मधेशी भन्नुहुन्छ। जन्मनत हामी दुवै एकै क्षेत्रमा जनिएका हाैँ। तर म आफुलाई मधेशमा जन्मिएको नेपाली भन्न रुचाँउछु।
    तपार्इँले मेरो जात थाहा मात्र पाउनुभयो भने पनि मलाई गम्भीर आरोप लगाउनु हुन्छ,  ‘खस आर्य सामन्त’ भनेर। तर दाजु तपार्इँले भन्ने गरेको शोषित पीडित र उत्पीडित जातिका ठालु सामन्तहरुको जमिन्दारिबाट म लगायत पुरै मिथिला क्षेत्र नै पीडित छ। 
    तपाईँलाई त लाग्दो हो यो पहाडीया समुदायको मान्छे। यसले त सकेसम्म मधेशमा शोषण गर्छ। मधेशी समुदायको पीडा के बुझ्छ र ? शब्दको तानामाना बुनेर फेरि पनि तपार्इँको भावनामाथि प्रहार गर्र्देैछ। तर दाजु म मधेशमा जन्मेर मधेशलाई नै कर्म भूमी बनाउदैँ निरन्तर मधेशी जनताको सेवामा लागेको मान्छे। दुःख त त्यतिबेला लाग्छ जो मधेशमा जन्मेर मधेशीको नाममा अनेक सेवा सुविधा लिन्छ तर मधेशी जनताको सेवा गर्नको लागि मधेशलाई कर्म भूमी बनाउन त परै जाओस् आफ्नो समुदायको सबैभन्दा ठूलो पर्व छठ समेत रानी पोखरीमै मनाउँछ। र पनि आफुलाई मधेशी जनताको प्रवक्ताको रुपमा काठमाडौँबाट मिडियावाजी गर्छ। 
    दाजु, केही समय अघि तपाईँले लेख्नुभएछ कि धनुषा जिल्लामा सिडियोहरुको नामावलीमा एकजना पनि मधेशी छैन। ठिकै हो, जब तपाईँहरुले धनुषावासीहरुको उत्पीडनको विरुद्धमा जनकपुरमा बसेर वकालत गर्नुहुन्न भने किन कृष्णहरी पुष्कर, वीरेन्द्र कुमार यादव, अनिल ठाकुरहरु धनुषाका सिडियो बनुन्? आफुहरुचाँहि मधेशमा बस्न नमान्ने मधेशी जनताको उत्पीडनको जड के हो, मधेशी जनता किन पिडित छन् र मधेशको विकासको लागि आवश्यक मधेशी र पहाडी समुदायविचको मेलमिलाप र सहकार्य कसरी ल्याउने भन्ने तर्फ कहिल्यै विचारै नगर्ने तर राष्ट्रसेवाको निम्ति तराई मधेशमा अहोरात्र खटिने पहाडी समुदायलाई मधेशी नभएको एकमात्र कारणले भ्रष्ट देख्ने तपार्इँको मनोवृत्ति साम्प्रदायिक भएन र दाजु ? 
    दाजु, राष्ट्रियताको सवालमा महेन्द्रकालिन समय देखिनै मधेशी समुदायलाई रङ्ग र जातिकै आधारमा राज्यले विभेद गरेकै हो। यसमा राज्यको तर्फबाट सम्पूर्ण मधेशी समुदायसंग माफी माग्नै पर्छ। अब राष्ट्रियताको नयाँ परिभाषा विकास गर्नु आवश्यक छ। प्रत्येक नेपालीले रङ्ग र जातिको आधारमा कसैको राष्ट्रियता माथि गरिने शंकालाई पूर्ण रुपमा मेटाउन सक्नुपर्दछ। तर राष्ट्रियतालाई मजबुत बनाउने बेलामा तपार्इँको कुनै भूमिका नै छैन त? के सधै अर्को समुदायलाई गाली गरेर आफुलाई अब्बल बनाउन सकिन्छ र? 
    तपार्इँ काठमाडौँमा बसेर होला तपाईँले मधेशी जनताको वास्तविक माग बुझ्न सक्नु नै भएन। तपार्इँको उठबस नै मधेशको नाममा मधेशी जनतालाई शोषण गर्न पल्किएका जमिनदारहरुसंग मात्र भयो। धनुषाका मुसहर अनि सिराहाका चमारहरु त विचरा कसरी काठमाडौँ पुग्न सक्छन र? तिनीहरुको प्रतिनिधि बनेर काठमाडौँ छिरेकाहरुलाई त आलीसन महल बनाउनै ठीक भयो। दुई वर्षदेखि मधेशका उखु कृषकले चिनी मिलबाट भुक्तानी नपाएको अनि सिँचाइको अभावमा उर्वर भूमी बाझैँ बसेर मधेशका जनता खाडी मुलुक पस्नु परेको त पत्तै पाएनन्।
    दाजु तपार्इँलाई त लाग्दै छ कि मधेशी जनतालाई यो राज्यले अधिकार नदिएर उत्पीडित छन् तर साँचो मनले आफँैलाई सोध्नुस ०६२÷०६३ सालको जनआन्दोलन पछि सबैभन्दा बढी अधिकार पाउने समुदाय कुन हो भनेर। मधेशी समुदाय आज मधेसमा आन्दोलन गर्दैछन् तर के आन्दोलन अवसरको लागि हो त? अवसर (भलै त्यो मधेशीको नाममा केही ठालुहरुले मात्र उपभोग गरे) को लडाँई त पहिलो मधेश आन्दोलनबाटै जितिसकेका छन्। आज मधेशमा देखिएको जनउभार  कसैलाई न्यायधिस बनाउन वा अङ्गीकृत नागरिकता धारीहरुलाई मुख्य मन्त्री वा अन्य सर्वोच्च पदमा पुर्‍याउन हुदैँ हैन। यो जनउभार त मधेशको  विकास, समृद्धि र आत्मसम्मानको निम्ती हो। तपार्इँले चिन्ता देखाउनु भएको डा.सिके राउत प्रवृत्तिको समर्थन मधेशी जनताले कदापी गर्नेछैनन्। बरु मधेशी नेतृत्वले जन भावनालाई कुल्चेर पद र अवसरको खातिर विकास र आत्मसम्मानको मागलाई तिलान्जली दियो भने जनताले माफी दिने छैनन्। प्रधानमन्त्रीको निर्वाचनपछि मधेशी मोर्चाका नेताहरुको पुत्ला दहन र कार्यकर्ताहरुको सामुहिक राजिनामालाई नेतृत्वले खेलाची नसम्झे हुन्छ। अब पनि जनतालाई यो वा त्यो बहानामा भुल्याउन सकिन्छ भन्ने नसोच्दा हुन्छ। 
    तपाईँ कलम चलाउनु हुन्छ, तपाईँको बोली कसैले पत्याइदिन्छन् भने तपाईको आवाज के को निम्ती हो भनेर गम्भीर भएर सोच्नुहुन अनुरोध गर्दछु। तपाईँको कलमले सामन्तहरुको आवाजलाई हैन उत्पीडित जनजाति अनि बोल्न नसक्ने मधेशीको भावनालाई बोलिदिए बास्तवमै मधेशवाट उत्पीडन घट्ने थियो। तपार्इँको बोलीले भड्किएको तराई–पहाडको दुरीलाई कम गर्दै मेलमिलापको आवाज घनिभुत पारीदिए हुनेथियो। ऋतिक रोशन काण्डमा आफुले भोगेको अपमान र पीडा बोल्दै गर्दा मधेश आन्दोलनको नाममा जनकपुरबाट बिस्थापित भएकाहरुको पीडा पनि भनिदिए हुने थियो। 
    अन्तमा तपाईँ र म दुवै मिथिला भूमीको मान्छे। फरक यति हो तपार्इँले गर्वका साथ आफुलाई यस पवित्र भूमीको उत्पीडित धर्ती पुत्र भन्न पाउनु भएको छ। तर म यस क्षेत्रको जनताको सेवाको खातिर अहोरात्र खटेपनि तपाईँको समुदायबाट भ्रष्ट अनि खस आर्य सामन्त दरिनेमा परेको छु। तर मलाई कति पनि दुःख छैन किनकि मलाई आफ्नो जन्मभूमी (मिथिला क्षेत्र) को माया छ। मलाई थाहा छ एकदिन तपार्इँहरुले हामीलाई आफ्नो दुश्मन हैन परम मित्र सम्झनुहुनेछ। मेलमिलाप र सहकार्यका निम्ती हामी माथि लगाइएका सबै मिथ्या आरोपहरु तपाईँहरुले नै गलत सावित गरिदिनु हुनेछ।
    जब तराई मधेशमा मेलमिलापको भावना बलियो बन्छ आपसी द्धेष त्यागेर विकास समृद्धि र आत्म सम्मानको लागि सबै जात धर्म र समुदाय एकजुट हुने अवस्थाको सृजना हुन्छ तब मात्र मधेशको विकास सम्भव छ। अनि मात्र मधेशमा उत्पीडन घट्ने छ  । त्यसैले हामीलाई घृणा हैन माया गर्नुस्। मधेशको विकासको बाधक हैन। विश्वासिलो साझेदास सम्झिनसहोस्।  आउनुहोस् मधेश झर्नुहोस् यहाँको विकासको लागि हातेमालो गरौँ। भड्किएको सद्भाव फेरि मजबुत बनाउने कोशिस गरौँ।
    उहि तपाईँको प्रिय भाइ
    वावुराम भट्टराई, लालबान्दी, सर्लाही।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media. .... By- Setopati.com
    • Blogger Comments
    • Facebook Comments
    Item Reviewed: अधिवक्ता दिपेन्द्र झालाई खुला पत्र, Rating: 5 Reviewed By: Mero samay
    Scroll to Top