काठमाडौं: आमाका विषयमा धेरै कथा, कविता लेखिएका छन्। फिल्म बनेका छन्। आमा ममताको खानी हुन् भनेर व्याख्या भएका छन्। सामाजिक सञ्जालमा पनि मानिसहरु आमालाई सम्झिएर भावुक हुन्छन्। आमाबारे धेरै चर्चा भएपछि अमेरिकामा रहेका विजयकुमार पाण्डेलाई भने बुबाका विषयमा कम चर्चा भएको महसुस भएछ। 'साह्रै चुकचुक लाग्यो', उनले भने। सामाजिक सञ्जाल ट्वीटरमा आमा बारे धेरै ट्वीट माथि रिट्वीट देखेपछि अमेरिकामा रहेका पाण्डे (@meVeekay) ले बुबालाई सम्झिएर ट्वीट गरे। बुबाले आमा सँगै गरेका काम र माया सम्झिएर गरिएका पाण्डेका ट्वीट पनि सामाजिक सञ्जालमा धेरै रिट्वीट भए। तर यी विजयकुमार पत्रकार 'वियजकुमार पाण्डे' भने होइनन्। 'सानोमा आमा सरकारी जागिरको सिलसिलामा टाढा हुनुहुन्थ्यो बुबाले पनि कम्ती दु:ख गरेर हुर्काउनु भएन', पाण्डेले सम्झिए। 'आमाले माया गर्नुहुन्न भन्ने होइन, बुबाले गरेको माया पनि ट्वीटरमा भएकाहरुलाई देखाइदिऊ भनेर हो', पाण्डेले भने, 'मेरा आमा बुबा अहिले अर्घाखाँचीमा हुनुहुन्छ।
- तिम्ले मेहनत गर्ने, घर चलाउने... मैले आमाको दुधको भारा मात्रै देख्ने! "दुध निस्कन र हो नत्र त म पनि खुवाउँथें" भन्ने रहर त हुँदो हो नि बाबा।
- म खसीको मासु खाने जिद्दी गर्थें... पारीपारीसम्म पुगेर भएपनि ल्याउँथ्यौ! मलाइ ह्याँकुलो दिन्थ्यौ, खाने रहर त तिम्लाइ पनि हुँदो हो नि बाबा।
- तनाव मथ्थर पार्न कहिलेकाहिँ रक्सी खाएर आउँथ्यौ! आमाले "कुक्कुरको झोल खाएर आयो" भन्दै बाँसको चिर्पटले हान्थिन्, तिम्रो व्यथा बुझ्न सकिन बाबा।
- बाबा! मैले त तिम्रो गुन सम्झिने मात्रै प्रयास गरेको हुँ... आमा आमा भन्दै आर्टिको खेति गर्नेहरु नै बाबाको गुन सम्झंदा उर्लेको देख्यौ नि होइन?
- तिमीले मेरो लागि त्यत्रो दुख गर्यौ... तर दु:ख पर्दा हरेकपटक "ए आमा" भन्छु। दु:ख पर्दा सुरुमा 'बाबा' सम्झियोस् भन्ने रहर त हुँदो हो नि बाबा!
- आमाले लसुनबारीमा लगेर नुहाइदिँदा जाडो भएर भाग्न खोज्थें... मलाइ पाखुरामा समातेर ढाड भाँचिने गरि कुट्थिन्। तिम्रो मन भक्कानिदो हो नि बाबा! :)
- तिम्लाइ घरखर्च जोगाउन गाह्रो थियो... म किष्नेका दोकानमा गएर मनलागी उधारो खान्थें। उधारो ऋण तिर्ने बेला कति गाह्रो भयो होला मैले सोंचिन बाबा।
- घर मुन्तिरकी रेखासित बिहे गर्दिन्छु भनेर जिस्काउँदा म रोएको थिएँ... साथीले केटी मिलाइदिन्छु भन्दाचाहिँ दंग पर्छु! तिम्रो गुन बुझ्नसकिन बाबा।
- दिदीले टिकालाएर जम्मा गरेको पैसाले चकलेट किनेर चुंगी लगाइ लगाइ खाँदा मैले टुलुटुलु हेर्थें... ला छोरा "भेली" भएनि खा भनेको बिर्सेकोछैन बाबा।
- पुराना छालाजुत्तामा फाटेका मोजाले काम चलाउँथ्यौ... मोजाकै भएपनि भकुण्डो खेलोस् भनेर ती पनि त्याग गरेउ हगि! तिम्रो व्यथा बल्ल बुझ्दैछु बाबा।
- गहुँ छर्दा हिंगा चढ्ने रहर गर्थें... भिरालोमा छोरो लड्ला भनेर दिनभर सम्मो पाटोमा हिंगा लगाउँथ्यौ! भिरालो पाखो छर्ने हतार कहिल्यै गरेनौ बाबा।
- भन्यो भने गफ गरेजस्तो होला! तर तिमीले मलाइ स्वतन्त्रता पनि दिएका थियौ... जवानीमा रमाइलो गर्नुपर्छ भनेर मेरा साथीका कुनै बाले भनेनन् रे बाबा।
- साँझ पर्नासाथ भैंसी दुहुन्थ्यौ, आमाले दुध तताएर तरजति मलाइ खनाइदिन्थिन्... तिमी डालाभरि मकै छोडाउन थाल्थ्यौ, एकछिन पनि आराम गरेनौ है बाबा!
- आमाले आगोको भुग्रो जम्मा गरेर मलाइ सेकाउँथिन्... बचेखुचेको कोइला बटुलेर तिमी तमाखु भर्थ्यौ! तातो कोइलाले तमाखु भर्ने रहर त हुँदो हो नि बाबा।
- जङ्गलमा बाघ, झाडीमा सर्प, पखेरामा पहिरो! हरेकपल जीवनमरणको सङ्घर्ष चल्थ्यो... आमाले मलाइ एक जन्म दिइन्, तिमीले मलाइ कैयौं मृत्यु जितायौ बाबा।
- एसएलसी पछि आमाले घरमै बसोस् छोरो भन्ने रहर गर्दा "पढ्नेभए जान्छ नत्र भैंसी किन्दिन्छु" भनी काठमाडौँ धपायौ... त्यो निर्णय दुरदर्शी रहेछ बाबा।
- भन्यो भने झेल्ला देखिएला! तर बालकविता प्रतियोगितामा तिमीले लेखिदिएकै कविता बाचनले प्रथम भएको थिएँ.. साहित्यमा रुची जगाइदिने तिमी नै हौ बाबा।
- आमाले मकै पिसाउन मिलमा पठाउँथिन्... घर फर्किन अबेला हुँदा जङ्गलको बाटो छोरो डराउला भन्दै धिमधिमे टर्च बोकेर लिन आउँथ्यौ, माया गर्थ्यौ बाबा।
आमाले सानो सानो निहुँमा पनि माइत जाने धम्की देखाउँथिन्, दिदी र म पनि उस्तै पुल्पुलिएका थियौं... चित्त त तिम्रो पनि दुख्यो होला नि बाबा।
पाण्डेले आफूले बुवाबारे ट्वीट गर्नुको कारण भने ट्वीटरमा आमाबारे डक्टर भिक्टर फस्ट(@VctrFt) ह्याण्डलबाट आमाबारे भएका ट्वीटको रिट्वीट भएको सुनाए। फस्टले सोही ह्याण्डलबाट आमाले हुर्काउन गरेको दु:ख सम्झिएका छन्।
.